पाँचथर । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल, पाँचथरले सामाजिक कार्यमा सक्रियता बढाउँदै आफ्नो वार्षिक अभियानअन्तर्गत जिल्ला अस्पताल पाँचथर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

Nepalitheme

जिल्ला समन्वय समिति पाँचथरको आयोजनामा शनिवार बिहान भएको उक्त सरसफाई कार्यक्रममा अस्पताल परिसरमा रहेका प्लास्टिकजन्य फोहोर, झारपात र अनावश्यक झाडीहरू हटाइएको थियो। वाईसिएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकका अनुसार अभियान अस्पतालजस्तो संवेदनशील स्थानलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले सञ्चालन गरिएको हो।

सरसफाई कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज सीता थेबे, प्रदेश सल्लाहकार समिति संयोजक मेदनी खत्री, प्रदेश सचिवालय सदस्य टीका नेम्बाङ ‘परिचित’, फिदिम नगरपालिकाका उप–प्रमुख राधाकृष्ण न्यौपाने, जनस्वास्थ्यकर्मी महासंघ, युवा तथा विद्यार्थी संगठनका प्रतिनिधि, पाँचथर अस्पतालका स्वास्थ्यकर्मी र हुलाक लाईन युवा क्लबका सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रममा वाईसिएलका अध्यक्ष तुम्रोकले वाईसिएलले विगतदेखि नै नागरिकलाई साथ दिँदै विभिन्न सामाजिक कार्यहरूमा सक्रियता देखाउँदै आएको र आगामी दिनमा पनि सरसफाई अभियान, रक्तदान कार्यक्रम, र खेलकुद गतिविधिहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए। उनले भने, “आपतकालीन परिस्थितिमा बाढी–पहिरोले क्षतिग्रस्त संरचनाको मर्मत, उद्धार कार्य, र नागरिक सहायता उपलब्ध गराउन वाईसिएलले सदैव अग्रसर भूमिका निर्वाह गर्दै आएको छ।”

कार्यक्रमको व्यवस्थापन फिदिम नगरपालिका वाईसिएल समिति र जनप्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको सहकार्यमा भएको थियो।

वाईसिएल पाँचथरले कालोबजारी नियन्त्रण, भ्रष्टाचार विरुद्ध अभियान, सुशासन प्रवर्द्धन, र संगठन सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेको बताएको छ। वाईसिएलको सामाजिक र जनचेतनामूलक अभियानबाट आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न पाउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय