
पाँचथर । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा पाँचथरमा क्रियाशील पत्रकार राधा लुइटेल र जितेन्द्र भण्डारीलाई नगदसहित सम्मान गरिएको छ।
प्रेस युनियन पाँचथरले प्रदान गर्दै आएको स्व. देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार राधा लुइटेललाई प्रदान गरिएको छ भने स्व. लोकमन बाँस्कोटा स्मृति पत्रकारिता पुरस्कार पत्रकार जितेन्द्र भण्डारीले प्राप्त गरेका छन्। दुबै पुरस्कारको राशी समानरूपमा दश हजार रुपैयाँ रहेको छ।
यसै अवसरमा प्रेस युनियन पाँचथरले जिल्लामा कार्यरत ९५ जना पत्रकार र सञ्चारकर्मीको सामूहिक दुर्घटना बिमा समेत गराएको छ। युनियनका अध्यक्ष खबिन लुइटेलका अनुसार जिल्लामा रेडियो, पत्रपत्रिका तथा अनलाइन मिडियामा कार्यरत पत्रकारहरूको सुरक्षाका लागि सामूहिक बिमा योजना ल्याइएको हो।

स्थापना दिवसको कार्यक्रम फिदिम–४ सालघारीस्थित जागृति आधारभूत विद्यालयमा आयोजना गरिएको थियो। कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत आवासीय विद्यार्थीहरूलाई शुद्ध पिउने पानीका लागि पानी फिल्टर र स्टेशनरी सामग्री समेत प्रदान गरिएको थियो। साथै, प्रेस युनियनको भितेपात्रो समेत वितरण गरिएको युनियनका जिल्ला सचिव दीपक बोहराले जानकारी दिनुभयो।