
पाँचथर । कुम्मायक गाउँपालिकाले सूचना तथा सञ्चार ऐन निर्माणको प्रक्रिया अगाडि बढाउँदै सञ्चार प्रणालीलाई प्रभावकारी बनाउन पहल थालेको छ। यसै सन्दर्भमा बुधबार यासोकस्थित गाउँपालिका कार्यालयमा जिल्लाका क्रियाशील पत्रकारहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका अनुसार, सूचना ऐन अभावमा जनप्रतिनिधि र नागरिकबीचको सेवा प्रवाहमा समस्या आएको महसुस भएपछि स्थानीय पत्रकारहरूसँग छलफल गरिएको हो। छलफलमा पालिकाको प्रस्तावित ऐन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष भीमकुमार बाँस्कोटा, फोनिज प्रदेश अध्यक्ष विजयबोध लावती, अग्रज पत्रकार लक्ष्मी गौतम, पालिकाबाट कुमार खड्का तथा महिला प्रतिनिधि इवारा जबेगु सम्मिलित प्रतिनिधिमूलक समिति गठन गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को पालिका सभामा सो ऐन पारित गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत जय खनालले जानकारी दिए।

छलफलका क्रममा पालिका अध्यक्ष बमप्रसाद लावतीले स्थानीय योजनाको सूचना टोलटोलसम्म पुर्याउन सञ्चारकर्मीको भूमिकालाई आवश्यक ठहर गर्दै कार्यविधि बनाएर सहकार्य गरिने बताए। उनले पालिका सुक्खा क्षेत्र भएकाले सञ्चारकर्मीमार्फत सूचनाको प्रभावकारी प्रचार आवश्यक रहेको उल्लेख गरे।
उपाध्यक्ष महेन्द्र खड्काले पत्रकारिता पारदर्शिता र जवाफदेहिताको आधार भएको भन्दै कानुनी संरचनाबाट पत्रकार र पालिकाबीचको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे।
पत्रकारहरूले कार्यक्रममा बोल्दै संचारकर्मी र संचार गृह लक्षित कार्यक्रम ल्याउन, लोककल्याणकारी सूचना प्रवाहलाई प्राथमिकता दिन र पत्रकार संस्थाहरूको संस्थागत सबलीकरण गर्न सुझाव दिएका थिए।
हालसम्म फिदिम नगरपालिकाले मात्रै सञ्चार कानुन बनाइसकेको अवस्थामा कुम्मायक गाउँपालिका यस दिशामा अगाडि बढ्ने दोस्रो पालिका बन्न लागेको हो। नेपाल पत्रकार महासंघका अध्यक्ष बाँस्कोटाले अन्य पालिकाले अझै पहल नगरेको अवस्थामा कुम्मायकको पहल उदाहरणीय हुने बताए।
पाँचथरमा हाल चालिसभन्दा बढी क्रियाशील पत्रकारहरू सक्रिय छन्। नेपाल पत्रकार महासंघ अन्तर्गत प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस संगठन, फोनिज, सञ्चारिका समूह तथा जातीय पत्रकार समूहहरू गरी करिब एक दर्जन संगठनहरू क्रियाशील रहेका छन्।