फालेलुङ ।
फालेलुङ गाउँपालिका–४, खुर्बुक मलौटे खेलमैदानमा ३९औं हरिबोधनी एकादशी मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिता आज (कार्तिक १६ गते) बाट सुरु भएको छ।
परापूर्वकालदेखि निरन्तर लाग्दै आएको यो ऐतिहासिक एकादशी मेलाको यो वर्ष ३९औं संस्करण हो। सयपत्री युवा समूहको आयोजनामा सञ्चालन भइरहेको मेलामा यस वर्ष पनि विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको मेला आयोजक समितिले जनाएको छ।

मेला कार्तिक १५ गते सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको थियो। पहिलो दिन फिदिमको फ्युजन डान्स एकेडेमीले प्रस्तुत गरेको मनमोहक नृत्यले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको मेला समितिका अध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो।
आजदेखि सुरु भएको फुटबल प्रतियोगिताको पहिलो खेल फालेलुङ–४ चित्रेकी बोडर सेभेन र फालेलुङ–५ सिङ्गेडाडाकी ब्वाइज युनियनबीच भएको थियो। खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि ट्राइबेकरमार्फत नतिजा टुंग्याइएको थियो। ट्राइबेकरमा ब्वाइज युनियनले १ गोल गर्दै जित दर्ता गरेको थियो भने बोडर सेभेन गोलविहीन रह्यो।
त्यसैगरी दोस्रो खेलमा सूर्यदय युवा क्लब र मेमेङ स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको र सूर्यदय युवा क्लबले २–० ले जित हात पारेको खेल संयोजक सन्तविर राईले जानकारी दिनुभयो।
आयोजकका अनुसार प्रतियोगितामा १६ टिमको सहभागिता छ, जसमा पुरुष र महिला दुवै तर्फका टिमहरू समावेश छन्। पुरुषतर्फ प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
महिला तर्फ विजेताले नगद १५ हजार, उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट खेलाडी, डिफेन्डर, बेस्ट प्लेयर र हाई स्कोरर खेलाडीका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका सचिव सुनिल राईले बताउनुभयो।
३९औं हरिबोधनी एकादशी मेलाको औपचारिक उद्घाटन फालेलुङ–४ का वडा अध्यक्ष सन्तविर राईले गर्नुभएको आयोजकले जनाएको छ।
तस्वीरहरु–









