फिदिम। वाइसीएल नेपाल पाँचथरले आर्थिक अवस्था कमजोर रहेका अमृत नेपालीको परिवारका लागि नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ।
फिदिम नगरपालिका–२, माथिल्लो गाउँमा निर्माण गरिएको उक्त घर २०८२ साल भदौ महिनाबाट जनश्रमदान सुरु गरिएको थियो। निर्माण सम्पन्न भएपछि वैशाख ६ गते आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हर्कबहादुर नेम्वाङ (मिक्सो) को प्रमुख आतिथ्यतामा अमृत नेपालीकी श्रीमती बिमला दर्जीलाई घर हस्तान्तरण गरिएको वाइसीएल नेपाल पाँचथरका कार्यवाहक अध्यक्ष रामु तृखत्रीले जानकारी दिनुभयो।

बिमला दर्जी यसअघि सानो झुप्रो घरमा बस्दै आएकी थिइन्, जहाँ बर्खायाममा पानी चुहिने समस्याले दैनिक जीवन कष्टकर बन्दै आएको थियो। नयाँ घर प्राप्त गरेपछि उनले खुसी व्यक्त गरेकी छन्। उनका परिवारमा बुहारी र कान्छा छोरा सँगै बस्दै आएका छन् भने जेठा छोरा रोजगारीका लागि विदेशमा रहेका छन्। कान्छा छोरा ट्र्याक्टर चालकको रूपमा कार्यरत छन्।
वाइसीएल नेपालका केन्द्रीय सचिव विक्रम संखरले छिमेकमा रहेको उक्त दयनीय अवस्था अवलोकन गरेपछि ‘श्रमसँग रोजगार’ अभियानअन्तर्गत घर निर्माण गर्ने निर्णय गरिएको थियो। सोही अभियानमार्फत घर निर्माण कार्य अघि बढाइएको हो।
घर निर्माणमा करिब पाँच लाख पचास हजार रुपैयाँ खर्च भएको केन्द्रीय सचिव संखरले जानकारी दिनुभयो। निर्माणका लागि आवश्यक जस्तापाता भने फिदिम नगरपालिकाले उपलब्ध गराएको थियो।
घर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य हर्कबहादुर नेम्वाङ (मिक्सो) सहित विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य सीता थेवे तथा पार्टीका सहायक संगठनका नेता, प्रदेश तथा जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको वाइसीएल नेपाल पाँचथरका सचिव ग्याजो शेर्पाले जानकारी दिनुभयो।








