फालेलुङ ।
पाँचथरको फालेलुङ गाउँपालिका–१ साल्बोटेमा बिहिबार बेलुका भएको आगलागीबाट एक परिवारको तीनतले कच्ची घर पूर्णरूपमा नष्ट भएको छ। मंसिर ४ गते (आज) बेलुका करिब ८ बजे हरिचन्द्र खड्काको घरमा अचानक आगो लागेको प्रहरीले जनाएको छ।
घरमा आगो लागेको जानकारी बेलुकी ८:२० बजे स्थानीयवासीबाट प्राप्त भएपछि प्रहरी चौकी चरिभञ्याङबाट प्रहरी नायब निरीक्षक खगेनसिंह राजबंशीको कमाण्डमा चारजनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

जिल्ला प्रहरी पाँचथरका अनुसार ढुङ्गा–माटोको पर्खाल र टिनको छानो भएको तीनतले घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएको छ। घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत सबै सामान जलेर क्षति भएको छ।
यद्यपि घटनामा मानविय क्षति नभएको र घरमा रहेका चौपायासमेत सुरक्षित रहेको प्रहरीले जनाएको छ। खड्का परिवारमा चार जना—एक महिला र तीन पुरुष—बसोबास गर्दै आएका थिए।
स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो राति ८:५० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।







