फालेलुङ।
फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित नवौं फालेलुङ चौँरी पर्यटन महोत्सव २०८३ को अवसरमा सम्पन्न साहसिक पुरुष फुटबल प्रतियोगितामा सुर्यदय युवा क्लब (लाफे) विजेता बनेको छ। प्रतियोगितामा तीनसिमाना जनसेवा समाज, मेमेङ उपविजेतामा सीमित भयो।

विजेता टोलीले ४० केजी (एक मन) चौंरीको घ्यू, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले २० केजी (आधा मन) घ्यू, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन्। आयोजक कञ्चनजंघा याक चिज उत्पादक समूहका खेल सह–संयोजक सुजन राईका अनुसार यसपटक पुरस्कार स्वरूप स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो।
२०७४ सालदेखि निरन्तर आयोजना हुँदै आएको फालेलुङ चौँरी पर्यटन महोत्सव यस वर्ष नवौं संस्करणमा पुगेको हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको महोत्सव चाररातेमा आयोजना गरिएको हो।
छिमेकी राष्ट्र भारतसँग जोडिएको यो क्षेत्र समुद्री सतहबाट करिब ३,०५० मिटरभन्दा माथि अवस्थित छ। उच्च हिमाली भेगमा फुटबल प्रतियोगिता आयोजना गरिनु आफैंमा साहसिक भएकाले प्रतियोगिताले विशेष आकर्षण पाएको छ।
यस वर्षको प्रतियोगितामा नेपाल र भारतका गरी पाँचभन्दा बढी टिमको सहभागिता रहेको थियो। अन्य वर्षभन्दा फरक रूपमा यसपटक स्थानीय रूपमा उत्पादन हुने चौंरीको दूधबाट बनेको शुद्ध घ्यूलाई पुरस्कारका रूपमा राखिएको थियो।
चैत ३० गतेबाट सुरु भएको महोत्सव २०८३ साल वैशाख ३ गते सम्पन्न भएको हो। नेपाली नयाँ वर्ष वैशाख १ को अवसर पारेर हरेक वर्ष यस क्षेत्रमा विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित महोत्सव मनाइँदै आएको छ।
स्थानीय पर्यटन व्यवसायीहरूले सडक, बिजुली र इन्टरनेट जस्ता आधारभूत पूर्वाधारको विकास भएमा यस क्षेत्रको पर्यटनमा अझ ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।







