फिदिम ।
पाँचथरको फिदिम नगरपालिका–४ चासोक मेलाको अवसरमा आयोजित आठौँ सुम्हालुङ मिनी म्याराथन सम्पन्न भएको छ। प्रतियोगितामा ताप्लेजुङको मैया खोला गाउँपालिकाका अमिर तेङबुङ पुरुषतर्फ प्रथम बनेका छन् भने महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा विजयी भएकी छन्।
फिदिम–४ सुम्हालुङ परिसरबाट सुरु भएको ९.५ किलोमिटर दूरीको पुरुष म्याराथन अमिरले २८ मिनेटमा पूरा गर्दै पहिलो स्थान कब्जा गरे। त्यस्तै, २९ मिनेटमा दूरी पूरा गरेका मिक्लाजुङ–पाँचथरका ओसन राई दोस्रो भए भने ताप्लेजुङ फक्ताङ्लुङका रमेश लिम्बू ३० मिनेटमा दूरी पार गर्दै तेस्रो स्थानमा रहे।

प्रतियोगितामा प्रथम भएका अमिरले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे। द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्। महिलातर्फ ५.३ किलोमिटरको दूरी १९ मिनेटमा पार गर्दै शेर्मा प्रथम भइन्। २० मिनेटमा दूरी पूरा गरेकी फाल्गुनन्द गाउँपालिका–पाँचथरकी कृतिका नेम्वाङ दोस्रो र २० मिनेट ३० सेकेन्डमा दौड पूरा गरेकी फिदिम–४ की मेन्छोमा तुम्बापो तेस्रो स्थानमा परिन्। महिलातर्फ प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।





