
फालेलुङ,पाँचथर।
पाँचथरको फालेलुङ गाउँपालिका–४ लाफे फोक्टेमा आयोजित प्रथम सूर्यदय गोल्डकप २०८२ शनिबार सम्पन्न भएको छ। वैशाख १५ गतेदेखि सुरु भएको प्रतियोगिता वैशाख २० गतेसम्म सञ्चालन भएको हो।
सूर्यदय युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुष र महिला दुवै तर्फबाट टिमहरूले सहभागिता जनाएका थिए। पुरुषतर्फ फाइनल खेलमा फालेलुङ–६ को एफएफसी क्लबले उपाधि जितेको छ भने फालेलुङ–५ को हेभेन्ली युथ क्लब उपविजेता बनेको छ। दुवै टिमले निर्धारित समयसम्म २–२ गोल गरेपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा एफएफसीले ३–२ ले विजय हासिल गर्दै पहिलो स्थान प्राप्त गर्यो।

विजेता एफएफसीले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हेभेन्ली युथ क्लबले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।
महिला तर्फ भने वानपिएम स्कोट मेमेङ विजेता बनेको छ। फाइनल खेलमा आयोजक सूर्यदय युवा क्लबसँगको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा मेमेङले ३–० को फराकिलो जीत हासिल गर्दै उपाधि जितेको हो। मेमेङले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने आयोजक सूर्यदय क्लबले उपविजेता बन्दै १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो।
खेल संयोजक सुजन राईका अनुसार प्रतियोगितामा पुरुषतर्फ १४ टिम र महिलातर्फ ४ टिम सहभागी भएका थिए।
आयोजक सूर्यदय युवा क्लबले यो वर्षदेखि गोल्डकप र मेलाको आयोजना थालेको जनाउँदै आगामी वर्षहरूमा निरन्तरता दिइने बताएको छ। देश–विदेशमा रहेका लाफे फोक्टेका युवाहरूको सहयोगमा प्रतियोगिता सम्पन्न भएको आयोजक सुशील राईले जानकारी दिए। उनले पुरुष तथा महिला दुबै तर्फको प्रथम पुरस्कार तथा ट्रफी प्रवासमा रहेका युवाहरूको सौजन्यमा उपलब्ध गराइएको जानकारी गराए।
प्रतियोगिताको उद्घाटनका दिन सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा ‘द भ्वाइस अफ नेपाल सिजन सिक्स’ का प्रतियोगी मिङ्सो केरुङ, दीक्षा खजुम, दीपेश मगर, विज्ञान जबेगू र युविन जबेगूले विशेष प्रस्तुति दिएका थिए।
गोल्डकपको उद्घाटन तथा समापन कार्यक्रम फालेलुङ–४ का वडा अध्यक्ष सन्तविर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। खेल सञ्चालन एन्फाका रेफ्री सन्तोष राईले गरेका थिए भने सहायक रेफ्रीमा श्याम थाम्सुहाङ र प्रदीप सावदेन थिए।