फिदिम । जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पाँचथरबाट पक्राउ गरेको छ।
सुनसरीस्थित झुम्का कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका कैदी रमेश लावतीलाई पाँचथरको तुम्वेवा गाउँपालिका–२ मितोकस्थित आफ्नै घरबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

हरि बहादुर लावतीका छोरा अन्दाजी ३५ वर्षीय रमेश लावती गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागी फरार भएका थिए। फरार रहेका उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा आफ्नै घरबाट नियन्त्रणमा लिएको जनाएको छ।
हालसम्म जेन्जी आन्दोलनबाट विभिन्न कारागारबाट फरार १३ जना कैदीहरुलाई जिल्ला प्रहरी कार्यलय पाँचथरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय प्रमुख अनिशकुमार कर्णले जानकारी दिनुभयो ।
पक्राउ परेका लावतीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।







