फालेलुङ ।
पाँचथरको फालेलुङ–४ मेमेङमा पुसेमेलाको अवसरमा आयोजित महिलामैत्री १० किलोमिटर मिनि म्याराथनमा आशिका राई प्रथम भएकी छन्। तीन सिमाना जनसेवा समाज नेपाल मेमेङको आयोजनामा परापूर्वकालदेखि चल्दै आएको पुसेमेलामा यस वर्ष फालेलुङ गाउँपालिकाभित्रका महिलाहरूमध्ये खुला दौड प्रतियोगिता गरिएको हो।
म्याराथन पौष ९ गते बिहान किरात गणतान्त्रिक खेलमैदानबाट सुरु भई थाप्लीडाँडा सिर्लिङ्गी टारसम्म पुगेर सोही स्थानबाट फिर्तिने गरी निर्धारित गरिएको थियो। प्रतियोगितामा १९ जनाले सहभागीता जनाएका थिए।

परिणामअनुसार फालेलुङ–४ की आशिका राई पहिलो, फालेलुङ–३ की अस्मि मैनाली दोस्रो र फालेलुङ–४ की रेनुका राई तेस्रो भइन्। चौथो स्थान फालेलुङ–३ की प्रमिला चौहानले हात पारिन् भने फालेलुङ–५ की करुणा राई पाँचौँ बनिन्। परिणाम सार्वजनिक गर्दै म्याराथन संयोजक रत्न थाम्सुहाङले खेलाडीहरूको समय पनि बताए।
उनका अनुसार प्रथम आशिकाले १ घण्टा ५० मिनेटमा दूरी पूरा गरिन्। दोस्रो अस्मि मैनालीले १ घण्टा ५२ मिनेटमा, तेस्रो रेनुका राईले १ घण्टा ५८ मिनेटमा, चौथो प्रमिला चौहानले २ घण्टामा र पाँचौँ करुणा राईले २ घण्टा १३ मिनेटमा दूरी पूरा गरे।
विजेताहरूलाई पुरस्कार पनि प्रदान गरिएको छ। पहिलो हुने आशिकाले नगद १५ हजार, दोस्रो हुने मैनालीले १० हजार, तेस्रो हुने रेनुकाले ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। चौथो र पाँचौँ हुने प्रतिस्पर्धीले समेत सान्त्वना पुरस्कारका साथै मेडल तथा प्रमाणपत्र पाएका आयोजकले जानकारी दिएको छ।





