काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुर निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् ।
रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए । उक्त प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरे । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा राप्रपाका सांसदले मतदान गरेका हुन् ।
२२ सांसदले भने पक्ष र विपक्ष कतै पनि मतदान गरेनन् । उक्त प्रस्तावमा मतविभाजन गर्दा प्रतिनिधिसभा बैठकमा २ सय ५६ सांसद उपस्थित थिए ।








