पाँचथरको फाल्गुनन्द गाउँपालिकाको आयोजनामा दोस्रो उपाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता घुर्विसे पञ्चमीस्थित कभर्डहलमा सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” मूल नारासहित मंसिर १७ देखि १९ गतेसम्म तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो।
प्रतियोगिताको उद्घाटन गाउँपालिका उपाध्यक्ष ठाकुरसिँ नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा जिल्ला समन्वय समिति पाँचथरका सभापति रामराज आङदेम्बे प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्मा विशेष अतिथिका रुपमा उपस्थित थिए। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो, लेखा शाखा प्रमुख चन्द्रकुमार योङहाङ, फालेलुङ गाउँपालिकाका लेखा प्रमुख दिपेन्द्र चेम्जोङ, योजना तथा प्रशासन शाखा प्रमुख निर्मल अधिकारी तथा विभिन्न वडाध्यक्षहरूको पनि उपस्थिति रहेको थियो।

खेल संयोजक दर्पण अधिकारीका अनुसार प्रतियोगिता BWF र NB को मापदण्ड अनुसार सञ्चालन गरिएको थियो। प्रतियोगितामा खुला ‘बी–लेभल डबल’, फाल्गुनन्द इन्टरनल, कर्मचारी/पदाधिकारी, महिला, ‘सी–लेभल’ तथा बिगिनर डबल गरी छ समूह राखिएको थियो। प्रतिभा पहिचान, स्थानीय खेलकुदको विकास र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
तीन दिनसम्म चलेको प्रतियोगितामा विभिन्न समूहका विजेताहरूलाई शुक्रबार सम्पन्न समापन समारोहमा पुरस्कार वितरण गरिएको छ। खुला ‘बी–लेभल’ समूहमा राहुल दास र नवन राई प्रथम भई ३० हजार रुपैयाँ प्राप्त गरे। दिपक आङदेम्बे र मङ्गेष तामाङ दोस्रो भई २० हजार पाए भने रोहिन तामाङ, माङबहादुर माङ्मु, गणेश मगर र सम्राट राई तेस्रो भई जनही ५–५ हजार रुपैयाँ प्राप्त गरे।
फाल्गुनन्द इन्टरनल ‘बी’ समूहमा चिरन राई र दिलिप तामाङ प्रथम भई २२ हजार रुपैयाँ प्राप्त गरे। दिपक आङदेम्बे र कुवेर आङदेम्बे दोस्रो भई १५ हजार प्राप्त गरे भने दर्पण अधिकारी–भवानी आङदेम्बे तथा देवी तुम्वापो–दिपेन्द्र चेम्जोङ जोडी तेस्रो भई जनही ३–३ हजार रुपैयाँबाट पुरस्कृत भए।
कर्मचारी समूहमा देवी तुम्वापो र दर्पण अधिकारी प्रथम भई १२ हजार रुपैयाँ प्राप्त गरे। अर्जुन आङदेम्बे र कालीबहादुर शाही दोस्रो भई ७ हजार हात पारे भने पूर्ण सदेम्बा, रामभक्ति नेम्वाङ, कुवेर आङदेम्बे र राजु आङदेम्बे तेस्रो भई जनही ३–३ हजार रुपैयाँ प्राप्त गरे।
महिला समूहमा तारा राई र जुना राई प्रथम भई १२ हजार रुपैयाँ जिते। मञ्जु मुखिया र अमृता राई दोस्रो भई ८ हजार पाए भने निकिता राई–पूनम थापा र निशा राई–विमला जोडी तेस्रो भई जनही ४–४ हजार रुपैयाँ प्राप्त गरे।
फाल्गुनन्द इन्टरनल ‘सी’ समूहमा युवराज चेम्जोङ र राजकुमार श्रेष्ठ प्रथम भई १० हजार रुपैयाँ प्राप्त गरे। आयुस चेम्जोङ र निशुम चेम्जोङ दोस्रो भई ८ हजार पाए भने सन्तवीर आङदेम्बे–गजेन्द्र चेम्जोङ र बाबुराम राई–रमेश रसाइली जोडी तेस्रो भई जनही २–२ हजार रुपैयाँबाट पुरस्कृत भए।
बिगिनर समूहमा धनु चेम्जोङ र उषा नेम्वाङ प्रथम भई ५ हजार रुपैयाँ प्राप्त गरे भने राजन रम्तेल र विजय नेम्वाङ दोस्रो भई ३ हजार रुपैयाँ हात पारे।
समापन समारोहमा उपाध्यक्ष ठाकुरसिँ नेम्वाङले विजेताहरूलाई पुरस्कार वितरण गर्दै यस्तो प्रतियोगिताले स्थानीय खेलकुद प्रवर्द्धन हुनुका साथै युवालाई स्वास्थ्यप्रति सचेत र अनुशासित बनाउने विश्वास व्यक्त गरे। आयोजकले प्रतियोगिताले फाल्गुनन्द क्षेत्रमा खेलकुदको वातावरण अझ सशक्त बनेको जनाएको छ।





