फालेलुङ ।
पाँचथरको फालेलुङ गाउँपालिकामा खुला पुरुष म्याराथन प्रतियोगिता हुने भएको छ। फालेलुङ–३ र ४ नम्बर वडाको संगमस्थल थाप्लिडाँडा–सिर्लिङी टारमा आयोजना गर्न लागिएको ‘तेस्रो फालेलुङ पर्यटन महोत्सव’ को अवसरमा म्याराथन हुने तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङले जानकारी दिएको छ।
मंसिर १२ गतेदेखि १५ गतेसम्म चल्ने महोत्सवको अन्तिम दिन मंसिर १५ गते बिहान ३२ किलोमिटर दूरीको खुला पुरुष म्याराथन सञ्चालन हुने म्याराथन सम्पर्क व्यक्ति रत्न थाम्सुहाङले बताए। प्रतियोगिता फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङबाट सुरू भई फालोट बीओपी क्याम्प हुँदै महोत्सव स्थल थाप्लिडाँडा सिर्लिङी टारमा समाप्त हुनेछ।

गत वर्ष यहाँ महिलाहरूको म्याराथन आयोजना गरिएको थियो भने यस वर्ष खुला पुरुष विधामा मात्र प्रतिस्पर्धा गरिने आयोजकले जनाएको छ। फालेलुङ गाउँपालिका प्रमुख प्रवर्द्धक र तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङको संयोजनमा महोत्सव लगातार तेस्रोपटक आयोजना गर्न लागिएको हो। महोत्सवअन्तर्गत वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको पनि आयोजना गरिएको छ। फुटबल तथा म्याराथन दुवै प्रतियोगितामा सहभागिता शुल्क निशुल्क रहने बताइन्छ।
म्याराथन विजेता खेलाडीलाई आकर्षक पुरस्कार राखिएको छ। प्रथम हुने धावकले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
मंसिर १५ गते बिहान म्याराथन सुरु हुने र मंसिर १४ गते बिहानै धावकहरूले अनिवार्य उपस्थित हुनुपर्ने आयोजकले जनाएको छ। दौड २,३०० मिटर उचाइबाट सुरु भई करिब ३,२०० मिटर उचाइ रहेको बीओपी क्याम्प क्षेत्र हुँदै सम्पन्न हुनेछ। 








