
पाँचथर । जिल्लामा बढ्दै गएको बेरोजगारी र वैदेशिक रोजगारीको प्रवृत्तिले सिर्जना गरेको सामाजिक तथा आर्थिक समस्यालाई लिएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपाल पाँचथरले फिदिम नगरपालिकालाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। संगठनले आगामी नीति तथा बजेटमा युवामैत्री कार्यक्रम समावेश गर्न माग गरेको हो।
शुक्रबार फिदिममा नगरपालिकालाई बुझाइएको ध्यानाकर्षण पत्रमा विगतका बजेटहरूमा युवालाई लक्षित कार्यक्रम कम भएको उल्लेख गर्दै आगामी योजनामा प्रभावकारी युवामैत्री नीति र कार्यक्रम ल्याउन सुझाव दिइएको छ। वाईसिएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकका अनुसार जिल्लाका आठै स्थानीय तहलाई यस्तो ज्ञापनपत्र बुझाइएको हो।
ध्यानाकर्षण पत्रमा खेलकुद विकास, पूर्वाधार विस्तार तथा खेल सामाग्रीको उचित व्यवस्था गर्न बजेट विनियोजन गर्न माग गरिएको छ। खेलमैदानको स्तरोन्नति र खेलकुद गतिविधिलाई संस्थागत बनाउनेतर्फ स्थानीय तहको ध्यान जानुपर्ने वाईसिएलको भनाइ छ।

यस्तै, बेरोजगार युवालाई देशमै अवसर सिर्जना गर्न नियमित प्रतियोगिता, प्रशिक्षण, युवा उद्यमशीलता प्रवर्द्धन तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि पत्रमा समावेश गरिएको छ। यसमार्फत वैदेशिक रोजगारीको सट्टा युवालाई स्वदेशमै सम्भावना देखाउन सकिने वाईसिएलको विश्वास छ।