
पाँचथर।
मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम–हिलिहाङ खण्डको हेवा खोलामा निर्माणाधीन मोडुलर पुल जोड्ने क्रममा भाँचिँदा मृत्यु भएका मजदुरप्रति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो (मौसम) ले श्रद्धाञ्जली अर्पण गरेका छन्।
शनिबार साँझ पुल वारपार जोड्ने क्रममा भाँचिँदा गम्भीर घाइते भएका ६ मध्ये तीन जनाको आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएपछि नेता आङ्बोले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका हुन्। आङ्बोले अब फेरि पुनः निर्माणको लागि निर्माण व्यवसायी र सडक विभागका इन्जिनियरहरुसँग निरन्तर संवाद भैरहेको जनाएको छ।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेता आङ्बोले लेखेका छन्, “हेँवा खोलामा निर्माणाधीन बेलिबृज भाँचिँदा निधन हुनुभएका तीनजना मजदुरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यो दुर्घटना अत्यन्तै दुखद बन्यो। पहिलो प्रयास असफल भए पनि अबका दिनमा पुनर्निर्माण र जिम्मेवारीका विषयमा निर्माण व्यवसायी तथा सडक विभागका इन्जिनियरहरूसँग निरन्तर संवाद भइरहेको छ।”
शनिबार साँझ पुल भाँचिँदा बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरी गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
प्रहरीका अनुसार अन्य घाइते मजदुरहरू प्रकाश चौधरी, भुलेश्वर चौधरी र अभिषेक चौधरीको अवस्था गम्भीर रहेकाले थप उपचार भइरहेको छ।
७० मिटर लामो हेवा खोलामा नेपालकै सम्भवतः सबैभन्दा लामो सिंगल स्पान मोडुलर बेलिबृज निर्माणाधीन अवस्थामा थियो। शनिबार उक्त पुल जोड्ने क्रममा अन्तिम चरणमा पुगिसकेको बेला भाँचिएको हो।
यसअघि २०८१ सालको असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण पुरानो बेलिबृज बगाएपछि अस्थायी रूपमा होम पाइपमार्फत यातायात सञ्चालन गरिएको थियो। अहिलेको नयाँ पुल संघीय सरकारको तीन करोड ४९ लाख रुपैयाँको लागतमा निर्माणाधीन रहेको हो। निर्माणको जिम्मेवारी ‘दोवान सुपर सौगात लाइट बेल्डर जेभी’ कम्पनीले लिएको थियो।