पाँचथर ।
मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा निर्माणाधीन मोडुलर पुल भाँचिँदा ६ जना कामदार घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Nepalitheme

शनिबार दिउँसो ७० मिटर लामो सिंगल स्पानको मोडुलर ब्रिज जडान गर्ने क्रममा पुल भाँचिएर दुर्घटना भएको हो। दुर्घटनामा परेर बारा जिल्लाको सिमरा उपमहानगरपालिका निवासी २२ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिषेक चौधरी र २२ वर्षीय रुपलाल चौधरी घाइते भएका हुन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कौशल कुमार बुढाथोकीका अनुसार राजन चौधरी, राकेश चौधरी, भुलेश्वर चौधरी र रुपलाल चौधरीको अवस्था गम्भीर छ। उनीहरूमध्ये तीन जनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ। बाँकी दुईजनाको पनि अवस्था जटिल हुन सक्ने भएकाले अन्यत्र रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

ऊनको स्वीटर टेजर

घाइतेहरुको प्रारम्भिक विवरणअनुसार रुपलाल चौधरीको बोल्न नसक्ने अवस्थामा छन् र बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर छ। राजन चौधरीको पिठ्युंमा चोट लागेको छ भने राकेश चौधरी पनि गम्भीर अवस्थामै छन्। भुलेश्वर चौधरीको दायाँ खुट्टा भाँचिएको छ। प्रकाश चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने अभिषेक चौधरीको टाउकोमा सामान्य चोट लागेको बताइएको छ।

नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको ७० मिटर लामो सिंगल स्पान मोडुलर ब्रिज भारतीय प्राविधिकको सहयोगमा जडान गरिँदै थियो। पुलको बीच भागमा कुनै पनि सपोर्टिङ पिलर नहुने प्रविधिमा निर्माण कार्य भइरहेको थियो। यसअघि वर्ष २०८० मा आएको बाढीले पक्की पुल बगाएपछि वैकल्पिक रूपमा बनाइएको बेलिब्रिज पनि २०८१ को असोज महिनाको बाढीले बगाएको थियो। त्यसपछि हेवा खोलामा मोडुलर पुल निर्माण कार्य सुरु गरिएको हो।

पुल भाँचिनुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय