
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । मंगलबार रातिको वार्तापछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको बताए ।
वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको उनको दाबी छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
वार्तामा शिक्षकहरूले ९ बुँदै प्रस्ताव राखेका छन् । त्यस विषयमा आज छलफल हुने र टुंग्याउने तयारी भइरहेको छ ।

वार्तामा महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली सहभागी भएको थियो । सरकार र आन्दोलनरत शिक्षक महासंबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेपछि मंगलबार राति पुनः वार्ता भएको हो ।
आज हुने वार्तामा थप प्रगति हुने सरकारी पक्षको विश्वास छ । शिक्षकहरू गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।