
फालेलुङ, पाँचथर।
नेपालको सुदूरपूर्वी जिल्ला पाँचथरको उत्तरपूर्वी भागमा फालेलुङ गाउँपालिका अवस्थित छ। यस (फालेलुङ) गाउँपालिका पाँचथरको वडा नम्बर तीन, चार, पाँच र छ एवं छिमेकी देश भारतको सिमानाको रूपमा रहेको महाभारत पर्वत श्रृंखलामा “फालेलुङ” भन्ने एउटा डाँडा छ। यो डाँडासँग यस क्षेत्रका मानिसहरूको इतिहास, जीवन, भाषा, संस्कार र संस्कृति जोडिएको पाइन्छ। फालेलुङ गाउँपालिका क्षेत्रभित्रका महत्वपूर्ण भौगोलिक एवं ऐतिहासिक स्थानहरूमध्ये यसलाई पनि एउटा मान्न सकिन्छ। सबैभन्दा प्रमुख कुरा त यसै फालेलुङ डाँडाको नामबाटै यस गाउँपालिकाको नाम पनि “फालेलुङ” राखिएको हो। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि समेत “फालेलुङ” डाँडा एउटा नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा स्थापित हुँदै गएको देखिएको छ। तत्कालीन ब्रिटिशकालीन भारतको इतिहासमा यो क्षेत्रबाट संसारको सबभन्दा अग्लो हिमश्रृंखलाको रूपमा रहेको कुम्भकर्ण (फक्ताङलुङ) र कञ्चनजङ्घा (केवालुङ) हिमाल हेर्नका लागि सडक निर्माण समेत गरिएकोले पर्यटकहरूलाई घुमघाम गर्न सहज भएको पाइन्छ।
“फालेलुङ” शब्द लिम्बु (याक्थुङ) भाषाबाटै राखिएको मौलिक स्थान नाम हो। तथापि यसको नाम कसरी फालेलुङ रहन गयो भन्ने सवालमा इतिहासकारहरूका फरक–फरक किसिमका किंवदन्तीहरू रहेका छन्। “फालेलुङ” प्राकृतिक भू–बनावटको आधारबाट राखिएको एउटा स्थान नाम हो। यस क्षेत्रका मानिसहरू दार्जिलिङ (मुग्लान) जाँदा बाटोमा पर्ने पत्रैपत्र भएर खप्टिएको ढुङ्गाहरू देख्दथे। यसरी पत्रैपत्र खप्टिएर बनेको ढुङ्गालाई लिम्बुहरूले “कुभाक्–कुभाक् लुङ” भन्दथे भने केहीले “फाक्सिङलुङ” पनि भन्ने गर्थे। यस डाँडामा रहेको यस्ता पत्रैपत्र भएका ढुङ्गाहरूलाई स्थानीय लिम्बुहरूले “फाक्सिङलुङ” वा “कुभाक्–कुभाक् लुङ” भन्दथे। “फाक्सिङलुङ” शब्द पछि अपभ्रंश भएर “फालेलुङ” भन्न थालियो र उक्त “फालेलुङ” (फाक्सिङलुङ) ढुङ्गाको नामबाटै यस ठाउँलाई पनि “फालेलुङ” भन्न थालियो। फालेलुङ गाउँपालिका क्षेत्रका लिम्बु (याक्थुङ)हरू उहिले–उहिले सुँगुरको पाठा बेच्न दार्जिलिङतिर जाने गर्थे। त्यसबेला उनीहरू यहीँ डाँडाको बाटो भएर जाने गर्दथे। लिम्बुहरूले यसरी सुँगुर बेच्न दार्जिलिङ हिँडेको बेला यस डाँडामा पुगेपछि यहाँ रहेका ढुङ्गाहरूमा एकछिन उनीहरूले आफ्ना सुँगुरका पाठाहरूलाई विसाउँथे र दाना खुवाउँथे। यहाँका ढुङ्गाहरूमा यसरी सुँगुरहरू विसाउने गरिएकोले यी ढुङ्गाहरूलाई उनीहरूले “फाक्नामलुङ” (सुँगुर विसाउने ढुङ्गा) भन्दथे। सुँगुर विसाउने गरिएको ढुङ्गालाई लिम्बुहरूले “फाक्नामलुङ” भन्दछन्। किनभने सुँगुरलाई लिम्बुहरूले “फाक” भन्दछन्, बिसाउनुलाई “नाम वा नामा” भन्दछन्, र ढुङ्गालाई “लुङ” भन्दछन्। “फाक्नामलुङ” (सुँगुर विसाउने ढुङ्गा) लाई नै पछि “फाक्लुङ” भन्न थालियो। यसरी सो ढुङ्गा रहेको स्थानलाई “फालेलुङ” भन्न थालियो। कालान्तरमा उक्त डाँडालाई पनि “फालेलुङ” भन्न थालियो र “फालेलुङ डाँडा” नाम रहन गयो।

त्यस्तै अर्को भनाइ अनुसार “फालेलुङ” स्थान नाम मौसम, जलवायुको आधारमा रहेको हो। उहिले यस डाँडामा निक्कै लेक लाग्ने गर्दथ्यो। तल गाउँबाट हिँडेका मानिसहरू यस डाँडामा रहेको पत्रैपत्र भएका ढुङ्गाहरूमा पुगेपछि लेक लाग्दथ्यो। लेक लागेकै कारण उता सिक्किम, दार्जिलिङ हिँडेका मानिसहरूलाई यो डाँडा काटेर जान निक्कै गाह्रो पर्दथ्यो। यसरी यहाँ पुगेपछि धेरै लेक लाग्ने भएको हुनाले यहाँ रहेका पत्रैपत्र भएका ढुङ्गाहरूलाई लिम्बुहरूले “फाङलेप्लुङ” (लेक लाग्ने ढुङ्गा) भन्दथे। खासगरी यस ठाउँमा पुगेपछि लेक लाग्ने अथवा लेक लाग्न सुरु हुने भएकोले यहाँका ढुङ्गाहरूलाई “फाङलेप्लुङ” भनिन थालिएको हो। लेक लाग्ने ठाउँका ढुङ्गाहरूलाई लिम्बुहरूले “फाङलेप्लुङ” भन्दछन्, किनभने लेक लाग्नुलाई उनीहरूले “फाङिल्आलेप्” वा “फाङलेप” र ढुङ्गालाई “लुङ” भन्दछन्। त्यही “फाङलेप्लुङ” नै पछि “फालेलुङ” (लेक लाग्ने ढुङ्गा) भन्न थालियो। त्यही ढुङ्गाहरूको नामबाटै पछि यस ठाउँलाई “फालेलुङ” भन्न थालियो र सो ठाउँको डाँडालाई “फालेलुङ डाँडा” भन्न थालियो।
अर्को भनाइ अनुसार, यस डाँडामा उहिले हिउँद लागेपछि पुरै हिउँ परेर यहाँका सबै ढुङ्गाहरू हिउँले छोपेर सेताम्मे हुन्थे। सेताम्मे भएका ढुङ्गाहरूलाई यहाँका स्थानीय लिम्बुहरूले “फःलेक्लुङ” भन्दथे। सेतो हिउँले छोपिएका ढुङ्गाहरूलाई लिम्बुहरूले “फःलेक्लुङ” भन्दछन्। “फःलेक्लुङ” अपभ्रंश भएर पछि “फालेलुङ” भन्न थालियो। कालान्तरमा “फालेलुङ” ठाउँको नाम यसरी रहन गएको पाइन्छ। यसै ठाउँको नामबाट “फालेलुङ” गाउँपालिकाको नाम राखिएको हो। फालेलुङ गाउँपालिकाको पूर्वमा भारतको सिक्किम र पश्चिम बंगाल राज्यहरू, उत्तरमा याङवरक गाउँपालिका, पश्चिममा हिलिहाङ गाउँपालिका र दक्षिणमा फिदिम नगरपालिका तथा इलाम जिल्लाको सन्दकपुर गाउँपालिका पर्दछन्।
कुल २०७.१४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपालिका ८ वटा वडाहरूमा विभक्त छ। ४,८४१ घरधुरीमा ११,५६४ महिला र १०,३२० पुरुष गरी २१,८८४ जना मानिसहरूको बसोबास रहेको छ। ५,५६५ हेक्टर वन क्षेत्र भएको यस गाउँपालिकामा २०,३२० हेक्टर जमिनमा खेतीपाती लगाइन्छ।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने फालोट, तीनसिमाना, चारराते प्रचुर सम्भावनाले युक्त सुप्रसिद्ध पर्यटकीय गन्तव्यहरू हुन्। वर्षको ४ महिना हिउँले ढाक्ने यी क्षेत्रमा २८ प्रजातिका गुराँसहरू तथा दर्जन बढी प्रजातिका अमूल्य जडीबुटीहरू पाइन्छन्। हेंवाखोला, खेउथाम (खेओथाम) खोला, नवमी खोला, मुवा खोला आदि यहाँका प्रमुख खोलाहरू हुन्। पानावा झरना, मुवा झरना, तीनछाँगे झरना (खेओथावा) आदि यहाँका मनमोहक झरनाहरू हुन्। सुकेपोखरी, लामपोखरी, भैंसे पोखरी, जलजले पोखरी, हेंवागङ्गा, नेपाली झण्डा पोखरी यस गाउँपालिकाका चित्ताकर्षक ताल–तलैयाहरू हुन्। मुक्लुङ (मुक्लुङघुरी), शिवगंगा, आगेजुङ गुम्बा, पाथीभरा, महादेवस्थान, नरेलुङ धाम, हेंवाकोठी, बुढीथाम, साप्लालुङ (केःलुङ), थकेपुङ आदि यहाँका पवित्र धार्मिक स्थलहरू हुन्। पशुपालन, खेतीपाती र पर्यटन व्यवसाय नै यहाँका मानिसहरूको मुख्य पेशा हुन्। यस गाउँपालिकामा लिम्बु, राई, क्षेत्री, ब्राह्मण, मगर, तामाङ, कामी, दमाई, सार्की, भुजेल र शेर्पा आदि विविध जातजातिको साझा बसोबास रहेको पाइन्छ। यहाँको ‘प्रकृति’ र ‘संस्कृति’मा ‘प्रविधि’ समेत जोड्न सकेमा निकट भविष्यमै फालेलुङ गाउँपालिकाको उज्यालो भविष्यको सहज परिकल्पना गर्न सकिन्छ।
www.phalelungmun.gov.np https://phalelungmun.gov.np/