फालेलुङ, पाँचथर।
पाँचथरको फालेलुङ गाउँपालिकामा सम्पन्न दोस्रो फालेलुङ पर्यटन महोत्सव २०८१ अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मेमेङ स्पोर्टिङ क्लबले जितेको छ।
तीनसिमाना जनसेवा समाज मेमेङको आयोजनामा भएको फालेलुङ–३ र ४ को संगमस्थल सिर्लिङ्गी टारमा चैत १८ गतेदेखि सुरू भएको महोत्सव शनिवार सम्पन्न भएको हो। प्रतियोगितामा आठ टिमले सहभागिता जनाएको खेल संयोजक श्याम थाम्सुहाङले जानकारी दिए।

फाइनल खेलमा फालेलुङ–५ लुदिनको हेभेन्ली युथ क्लब र फालेलुङ–४ को मेमेङ स्पोर्टिङ क्लब प्रतिस्पर्धामा उत्रिएका थिए। मेमेङले ४–२ को जित निकाल्दै उपाधि आफ्नो पक्षमा पार्यो। प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता हेभेन्ली युथ क्लबले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
महोत्सवको अवसरमा मैत्रीपूर्ण खेल पनि आयोजना गरिएको थियो, जसमा चार टिमले सहभागिता जनाएका थिए। फालेलुङ–३ र ४, फालेलुङ गाउँपालिकाका कर्मचारी टिम तथा दीप ज्योति युवा क्लबबीचको प्रतिस्पर्धामा फालेलुङ–३ को टिम विजयी भयो। उनीहरूले पुरस्कारस्वरूप २० हजार रुपैयाँ बराबरको खसी जितेका छन्।
त्यस्तै, सोही दिन आयोजित १० किलोमिटर महिला मिनि म्याराथन प्रतियोगितामा मिक्लाजुङ–२, पाँचथरकी पुष्पा शेर्माले उपाधि जितिन्। उनले १ घन्टा ९ मिनेटमा दूरी पार गर्दै पहिलो स्थान हासिल गरिन्। फालेलुङ–६ की सरला राई १ घन्टा १७ मिनेटमा दूरी पार गर्दै दोस्रो भइन् भने फालेलुङ–४ की रेनुका राईले १ घन्टा १८ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन्। विजेताहरूले क्रमशः २० हजार, १० हजार, र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।