
फिदिम ।
फिदिम नगरपालिकाको १६औं अधिवेशन (हिउँदे सभा) मंगलबार सम्पन्न भएको छ। अधिवेशनले नगरपालिकाको सहकारी ऐन, २०७४ र शिक्षा ऐन संशोधन गर्नुका साथै प्रकोप व्यवस्थापन कोष सञ्चालन तथा परिचालन कार्यविधि, २०८१ पारित गरेको छ।
नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार अधिवेशनमा फिदिम नगरपालिका शिक्षा ऐन, २०७४ को संशोधन प्रस्ताव पारित गरिएको छ। यस्तै, गत असार १० गते सम्पन्न १५औं नगर अधिवेशनबाट विनियोजित बजेटअन्तर्गत सञ्चालन गरिने योजनाहरू उपभोक्ता समिति र टोल विकास संस्थासँगको ३० प्रतिशत साझेदारीमा अघि बढाउने निर्णय गरिएको छ। साथै, स्वीकृत कार्यक्रमको बजेट संशोधन, योजना छनोट तथा रकमान्तर प्रस्ताव सर्वसम्मत पारित भएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख काफ्लेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपप्रमुख राधाकृष्ण न्यौपानेले स्वीकृत कार्यक्रम तथा बजेट संशोधन, योजना छनोट र रकमान्तर प्रस्ताव पेश गर्दै उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो।
नगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने नीति लिएको छ। यसअघि इ-बिडिङमार्फत आह्वान गरिएका ठेक्काहरू प्रतिस्पर्धामा सम्झौता हुँदा बचत भएको रकम पूर्वाधार विकासमा खर्च गर्ने नीति समेत नगरपालिकाले लिएको जनाएको छ।