फिदिम।
विद्या की देवी सरस्वती माताको पूजा-आराधना सहित विभिन्न कार्यक्रम गरी फिदिम नगरपालिका वडा नं. ७ का विभिन्न विद्यालयहरूले आज सरस्वती पूजाको विशेष अवसर मनाएका छन्।
यसै क्रममा, अरनिको आधारभूत विद्यालय फिदिम-७, हाम्फाबुङले सरस्वती पूजा तथा ३५औं वार्षिक उत्सव एवं सम्मान कार्यक्रम आयोजना गरेको छ। फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले प्रमुख अतिथि तथा नगर उपप्रमुख राधाकृष्ण न्यौपाने विशेष अतिथि रहनुभएको उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष स्व. लोकनाथ बाँस्कोटा, संस्थापक सदस्य एवं जग्गादाता तथा पूर्व अध्यक्ष स्व. उदयबहादुर नेम्बाङ, विद्यालयलाई खानेपानी मुहान उपलब्ध गराउने स्व. टेकनाथ बाँस्कोटा, पूर्व अध्यक्ष स्व. दलबहादुर राई, नेत्रप्रसाद बाँस्कोटालाई मरणोपरान्त सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी, विद्यालयका पूर्व अध्यक्ष गंगाबहादुर थेवे, संस्थापक प्रधानाध्यापक रमेश पोखरेल, पूर्व शिक्षकहरू पूर्णबहादुर गुरुङ, सुरेन्द्र न्यौपाने, कौसिला खनाल, मुक्तिराज रेग्मी, रुपेन्द्र बुढाथोकी, फणिन्द्र खनाल, बलभद्र आचार्यलाई समेत सम्मान गरिएको थियो।
यसैगरी, चन्दादाता, असल अभिभावक तथा विद्यालयलाई सहयोग गर्ने अन्य २८ जना व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी तथा हाल अमेरिका निवासी सुरेन्द्र थेगिमले विद्यालयमा अध्ययनरत ६८ जना विद्यार्थीहरूलाई स्कुल झोला, न्यानो कपडा, स्टेशनरी सामग्री प्रदान गरेका थिए, जुन विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद न्यौपानेले वितरण गरिएको जानकारी गराउनुभयो। त्यसैगरी, दलबहादुर धमलाले विद्यालयका विद्यार्थीहरूका लागि सय-सय थान कपी र डटपेन वितरण गरेका थिए।
विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, वडा अध्यक्ष रुपेन्द्र तामाङ, पूर्व वडा सदस्य उपेन्द्र बाँस्कोटा, पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। साथै, कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो।
कार्यक्रममा फिदिम नगरपालिका वडा नं. ७ का वडा सदस्यहरू भीमाकुमारी दुलाल बाँस्कोटा, बलबहादुर राई, मञ्जु धमला, सगरमाथा आविका प्रधानाध्यापक रत्न कुमार गुरुङ, प्रगतिशील आविका प्रधानाध्यापक कैलाश गुरुङ, रानीटार माविका शिक्षक देवेंद्र बाँस्कोटा लगायतको उपस्थिति रहेको थियो।
यसैगरी, आजै पञ्चकन्या आधारभूत विद्यालय फिदिम-७, माक्लुम्वामा पनि सरस्वती पूजा कार्यक्रम सम्पन्न भएको छ, जसको जानकारी विद्यालयका प्रधानाध्यापक रामप्रसाद बाँस्कोटाले गराउनुभयो। त्यस्तै, कालिका आधारभूत विद्यालय फिदिम-७, नाङ्लपामा पनि विविध कार्यक्रमसहित सरस्वती पूजा सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद बाँस्कोटाले जानकारी गराउनुभयो।