
पाँचथर।
पाँचथरको याङ्वरक गाउँपालिका-२, बर्मेमा रहेको तिम्बूपोखरी आधारभूत विद्यालयलाई ‘हाम्रो साहारा पाँचथर’ संस्थाले शैक्षिक सामग्री प्रदान गरेको छ।
शुक्रबार एक कार्यक्रम आयोजना गरी विद्यालयलाई ५ थान वाइट बोर्ड, रबर ड्स्पिन, १ थान पानी फिल्टर, १ थान घडी, साथै विद्यार्थीहरूका लागि कापी, कलम, कटर र ब्यागलगायतका सामग्री वितरण गरिएको हो। संस्थाका अध्यक्ष गजेन्द्र राईका अनुसार प्रदान गरिएका सामग्रीहरूको मूल्य ३० हजार रुपैयाँ बराबर रहेको बताए।
विद्यालयमा मात्र ७ विद्यार्थी, कक्षा १ मा विद्यार्थी छैनन्
बर्मे पाँचथरको दुर्गम क्षेत्र हो, जहाँ जम्मा १३ घरपरिवार बसोबास गर्छन्। सो गाउँमा रहेको तिम्बूपोखरी आधारभूत विद्यालय कक्षा ५ सम्म सञ्चालनमा छ, तर हाल विद्यालयमा जम्मा ७ जना विद्यार्थी मात्र अध्ययनरत छन्। कक्षा १ मा विद्यार्थी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप राईले जानकारी दिए। विद्यालयमा १ जना प्रधानाध्यापक र १ जना सहयोगी स्टाफ कार्यरत छन्। विद्यार्थी संख्या कम भए पनि शिक्षाको गुणस्तर राम्रो रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
दुर्गम स्थानका कारण विद्यार्थी संख्या घट्दै
विद्यालयका प्रधानाध्यापक धनप्रसाद राईका अनुसार पछिल्लो समय विद्यार्थी संख्या घट्दै गएको छ। दुर्गम स्थान, पूर्वाधारको अभाव, र बसाइँसराइ मुख्य कारण रहेको बताइएको छ। विद्यालयको पढाइ सकेपछि विद्यार्थीहरूले उच्च शिक्षा अध्ययन गर्न ३ घन्टाको जंगलको बाटो पार गर्दै बेतेनी पुग्नुपर्ने बाध्यता छ।
स्थानीय बासिन्दा विष्णु कुमारी माङ्मुले बर्मे गाउँमा न त स्वास्थ्य संस्था छ, न त मोटरबाटो। बिरामी परे ३ घन्टा हिँडेर सडकसम्म पुर्याउनुपर्ने अवस्था रहेको उनले बताइन्। सुत्केरी महिलाहरूलाई अस्पताल पुर्याउन कठिनाइ हुने र समयमै उपचार नपाउँदा ज्यानको जोखिमसमेत बढ्ने गरेको उनले दुःखेसो पोखिन्।
मोटरबाटोको अभाव, विकासको पर्खाइ
बर्मे नजिकै ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-१ कालिखोला क्षेत्रमा मोटरबाटो पुगेको भए पनि त्यहाँसम्म नियमित गाडी सञ्चालन हुन सकेको छैन। स्थानीयका अनुसार रिजर्फ गाडी मात्रै कहिलेकाहीँ पुग्ने गरेका छन्। पाँचथरको सदरमुकाम फिदिमबाट बर्मे पुग्न मोटरसाइकलमा झन्डै ८ घन्टा लाग्ने छ। याङ्वरक-२ का वडा अध्यक्ष देउ कुमार बेघाका अनुसार बर्मेसम्म मोटरबाटो पुर्याउन डीपीआर भइसकेको बताए।
विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा ‘हाम्रो साहारा पाँचथर’ का अध्यक्ष गजेन्द्र राई, प्रमुख अतिथि याङ्वरक गाउँपालिका-२ का वडा अध्यक्ष देउ कुमार बेघा, नेपाली कांग्रेस याङ्वरक-२ का सभापति, पत्रकारहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष गजेन्द्र राईका अनुसार आगामी वर्ष पनि विद्यालयलाई शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ। अध्यक्ष राईले विकट स्थानमा आएर सहयोग गर्न पाउँदा खुसी लागेको बताए। साथै, संस्थाले अघिल्लो भदौ ९-१२ गते आएको बाढीपहिरोबाट विस्थापित नागरिकको उद्धार तथा राहत वितरण गरेको र पछिल्लो समय असहाय, गरिब तथा एकल महिलाहरूलाई समेत सहयोग गर्दै आएको जानकारी गराए।
स्थानीयको अपेक्षा: पूर्वाधार विकास र सरकारी सहयोग
स्थानीयबासीले शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सुविधाको विस्तारमा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्। ‘हाम्रो साहारा पाँचथर’ जस्ता संस्थाहरूले सहयोग गरे पनि दीर्घकालीन समाधानका लागि सरकारी योजना आवश्यक रहेको उनीहरू बताउँछन्।