फिदिम।
पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सुन्तला खेतीका कृषकहरूका लागि घुम्ती कृषक तालिम आजबाट सुरु भएको छ। फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा सुरु भएको तीनदिने तालिमको उद्देश्य सुन्तला खेतीमा देखिएका समस्याहरू समाधान गर्दै कृषकलाई व्यवसायिक बनाउन र आयआर्जन वृद्धि गर्न सहयोग पु¥याउनु हो।
फिदिम नगरपालिका–७ का तल्लो क्षेत्रका ३० जना कृषकको सहभागिता रहेको तालिममा कृषि शाखाका प्रमुख यामबहादुर संग्रौला र कृषि प्राविधिक कल्पना अधिकारीले सहजीकरण गरिरहेका छन्। कञ्चनजङ्घा टी स्टेट चंखलालेको सभा हलमा सुरु भएको उद्घाटन सत्रमा प्रमुख अतिथि उपप्रमुख न्यौपाने, वडा सदस्य भीमाकुमारी दुलाल बाँस्कोटा, स्वर्णदिप कृषि सहकारी संस्थाका अध्यक्ष अम्बिका ढुंगानालगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्दै तालिमबाट सिकिएका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए।
कार्यक्रममा कृषि शाखाका प्रमुख संग्रौलाले तालिमको उद्देश्य र औचित्यबारे प्रस्ट पार्दै कृषकलाई व्यावसायिक उत्पादनतर्फ उन्मुख गराउन तालिमले सहयोग गर्ने बताए।
उद्घाटन सत्रमा कञ्चनजङ्घा टीस्टेट एन्ड रिसर्च सेन्टरका सञ्चालक समितिका सदस्य टीका प्रकाश बाँस्कोटा, पञ्चकन्या आविका प्रधानाध्यापक रामप्रसाद बाँस्कोटा, कालिका आविका प्रधानाध्यापक चन्द्रप्रसाद बाँस्कोटा, अरनिको आविका सहायक प्रधानाध्यापक जयबहादुर नेम्बाङ, कञ्चनजङ्घा टी स्टेटका प्राविधिक प्रमुख रामबहादुर नेम्बाङ र फिदिम नगरपालिकाका सहायक कम्प्युटर अपरेटर भीम चेम्जोङलगायतको आतिथ्यता रहेको थियो।
वडा सदस्य प्रदीप बाँस्कोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन कृषि प्राविधिक कल्पना अधिकारीले गरेकी थिइन।