पाँचथर।
विकासवादी नेता तथा पूर्वमन्त्री स्व. पद्मसुन्दर लावतीको स्मृतिमा स्थापना गरिएको पद्मसुन्दर लावती प्रतिष्ठानको वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन बिहीबार फिदिममा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय पाँचथरमा २०८० पुस २३ गते दर्ता गरिएको प्रतिष्ठानको संस्थापक अध्यक्ष विजयबोध लावती नेतृत्वको समितिलाई प्रथम अधिवेशनले पुनः निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा निलम गिरी, सचिवमा लोकेन्द्र आले मगर, कोषाध्यक्षमा रेखा लावती, तथा सदस्यहरूमा उपेन्द्र लावती, शान्तिला तुम्बापो, शान्ति सारु मगर र चन्द्रकला लावती चयन भएको निर्वाचन समिति सदस्य सेसेहाङ लावतीले जानकारी दिनुभयो।
१९९६ साल साउन ७ गते पाँचथरको यासोक भदौरेमा जन्मनुभएका स्व. लावतीले २०२१ सालमा यासोक गाउँपञ्चायतबाट सक्रिय राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। उहाँले क्रमशः स्वास्थ्य, गृह, सामान्य प्रशासन, उद्योग, सञ्चार, भूमि सुधार, र कृषि मन्त्रीको जिम्मेवारी सम्हाल्दै उच्चस्तरीय राजनीतिक र सामाजिक योगदान गर्नुभयो। २०५२ सालसम्म मन्त्री र राप्रपा पार्टीका महामन्त्री तथा सहअध्यक्ष रहनुभएका लावती पाँचथर जिल्लाका विकासवादी नेताका रूपमा स्थापित हुनुभयो।
२०३२ सालमा जनश्रमदानमार्फत मेचीराजमार्ग निर्माण अभियान चलाउनुभएको लावतीले पाँचथर अस्पताल, क्याम्पस, खाद्य संस्थान कार्यालय, र सदरमुकाम फिदिम केन्द्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँले गाउँघरमा स्वास्थ्य चौकी, प्रहरी चौकी, बैंकहरू, सिँचाइ कुलो, खानेपानी आयोजनाहरू, र विद्यालय भवन निर्माणमा उल्लेखनीय योगदान गर्नुभएको थियो।
प्रतिष्ठानका अध्यक्ष विजयबोध लावतीका अनुसार स्व. लावतीको नाममा स्थापना गरिएको प्रतिष्ठानले उहाँका अधुरा सामाजिक तथा विकासका कार्यहरू पूरा गर्ने लक्ष्य राखेको छ। आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, खेलकुद, कला तथा साहित्य क्षेत्रबाट समाज रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने योजना रहेको छ। प्रतिष्ठानको कोषमा हाल सात लाख रुपैयाँ संकलन भएको र आगामी दिनमा ५० लाखको कोष बनाइने बताइएको छ।
स्व. लावतीको योगदानलाई सम्मानस्वरूप फिदिम र यासोक बजारको मध्यभागमा उहाँको शालिक निर्माण गरिएको छ। उहाँको जीवन र योगदान झल्काउने वृत्तचित्र, ब्रोसर, तथा जीवनी पुस्तकको दोस्रो संस्करण एक हजार प्रति प्रकाशित भइसकेको छ।
उहाँको स्मृतिमा विभिन्न स्थानमा नगद तथा सामग्री सहयोग अभियान सञ्चालन भइरहेको छ। “बुबाको अधुरो सपना पूरा गर्न प्रतिष्ठानले निरन्तर योगदान गर्नेछ,” स्व. लावतीका छोरा सगुनसुन्दर लावतीले जानकारी दिनुभयो।
२०३५ सालमा पाँचथरमा विद्युत पावर निर्माण गरी वितरण गर्ने, राँके-रवि-भेरेटार सडक ट्र्याक खोल्ने, फिदिम बजारमा सरकारी कार्यालय स्थापना गर्ने, र तमोर कोरिडोर सडकको सम्भाव्यता अध्ययन गर्ने जस्ता कार्यहरू स्व. लावतीका अविस्मरणीय योगदान हुन्। “स्व. लावती विकासवादी नेताको रूपमा चिरपरिचित हुनुहुन्छ,” पूर्व उपरथी होमुकुमार लावतीले बताउनुभयो।
प्रतिष्ठानले स्व. लावतीको योगदानलाई प्रेरणाका रूपमा अगाडि बढाउँदै समाज परिवर्तनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।