फालेलुङ।

Nepalitheme

पाँचथरको फालेलुङ–४, मेमेङमा आयोजित १७ औं पुसेमेला तथा चौथो मेमेङ कप खुल्ला पुरुष र वडा स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ। “विविधतामा एकता, सामाजिक सहिष्णुतामा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ तीन सिमाना जनसेवा समाज मेमेङको आयोजनामा पुस ५ गते सुरु भएको कार्यक्रम पुस १० गते समापन भएको हो।

खुल्ला पुरुष फुटबल प्रतियोगितामा गुरुङ ब्वाइज सुनखरी इलामले उपाधि जित्दै १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। फाइनल खेलमा योङ्हाङ सर्भिस याङ्वरक नागीलाई पराजित गर्दै विजयी बनेको हो। दोस्रो स्थान हासिल गरेको याङ्वरकले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

फाइनल खेल निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा इलामले ५–४ को नतिजा निकाल्दै जित हासिल गर्‍यो। प्रतियोगितामा इलामका रोसन मुखिया उत्कृष्ट गोलकिपर घोषित भए भने याङ्वरकका सन्तोष गुरुङ उत्कृष्ट डिफेन्डर चुनिए। सर्वाधिक गोलकर्ता मेमेङ स्पोर्टिङ क्लबका दिलिप राई र उत्कृष्ट खेलाडी इलामका सुमन धमला घोषित भएको आयोजकका श्याम थाम्सुहाङले जानकारी दिनुभयो ।

तेस्तै,

फालेलुङ गाउँपालिका वडा स्तरीय महिला नकआउट फुटबल प्रतियोगितामा फालेलुङ–२ ले उपाधि जितेको छ। उपविजेता फालेलुङ–४ बनेको छ। विजेता टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता टोलीले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजकले जानकारी दिएको छ।

महिला फुटबलमा फालेलुङ–२ की अरुणा आङ्थुपो उत्कृष्ट गोलकिपर घोषित भइन्। उत्कृष्ट डिफेन्डर जमुना राई, उत्कृष्ट खेलाडी सुजना राई (दुवै फालेलुङ–२) तथा सर्वाधिक गोलकर्ता फालेलुङ–४ की शोभा राई घोषित भए।

पुस ९ गते पुसेमेलाको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा कलाकारहरू पृतिका बेघा, मिङ्सो केरुङ, मौसम थाम्सुहाङ र विज्ञान जबेगुले आकर्षक प्रस्तुति दिएका थिए।

फाइनल खेलपछि भएको समापन कार्यक्रममा फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरबिक्रम थाम्सुहाङ प्रमुख अतिथि रहेका थिए। तीन सिमाना जनसेवा समाजका अध्यक्ष लेन्जो सावदेनका अनुसार पुसेमेलाले मेमेङ क्षेत्रको खेलकुद र सांस्कृतिक पहिचानलाई अझै उजागर गर्न मद्दत पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय