
यासोक, पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकामा सम्पन्न छैटौँ पालिका स्तरीय ‘कुम्मायक गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि हिलिहाङ गाउँपालिकाले जितेको छ।
यासोकस्थित श्री पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा हिलिहाङले म्याङलुङ नगरपालिका, तेह्रथुमलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलको निर्धारित ९० मिनेटको समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा हिलिहाङले सबै प्रहारलाई गोलमा परिणत गर्न सफल हुँदा म्याङलुङका एक प्रहार बाहिरिएको थियो। यससँगै हिलिहाङले पहिलो पटक कुम्मायक गोल्डकपको उपाधि जितेको हो।

विजेता हिलिहाङले नगद १ लाख २५ हजार ५५५ रुपैयाँ, चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता म्याङलुङ नगरपालिकाले भने नगद ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
विजेता तथा उपविजेता टोलीलाई म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, कुम्मायक गाउँपालिकाका अध्यक्ष वंम प्रसाद लावती र क्षमादेवी कन्ट्रक्सन प्रालिका प्रतिनिधि गोपाल थापाले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिताका उत्कृष्ट खेलाडी हिलिहाङका मदन माझी घोषित भए। यस्तै, टुर्नामेन्टको प्लेयर अफ द टुर्नामेन्ट निरोज तामाङ, बेष्ट मिडफिल्डर बिपल तामाङ, बेष्ट कोच गजेन राई, बेष्ट डिफेन्डर प्रकाश धमला, र बेष्ट गोलरक्षक बाबा सुहाङ घोषित हुँदै उनीहरूले नगदसहित ट्रफी प्राप्त गरे।
त्यस्तै, म्याङलुङ नगरपालिकाका बेष्ट फरवार्ड सन्दीप गुरुङ, हाइ स्कोरर विशाल काफ्ले, र हिलिहाङका निरोज लिङ्देन पनि व्यक्तिगत विधामा उत्कृष्ट घोषित हुँदै ट्रफीसहित पुरस्कृत भए।
जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पाँचथरका सात र तेह्रथुमको एक गरी आठवटा स्थानीय तहहरूको सहभागिता रहेको आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष खेमराज निरौलाले जानकारी दिए।