पाँचथर ।
चर्च ब्वाइज क्लब पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
बुधबार फिदिममा भएको खेलमा विराटनगर सिटी क्लबमाथि ७–१ गोलअन्तरको फराकिलो जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजको जितमा समिर तामाङ र अर्मान्ड विडुमले ह्याट्रिक गर्दा फोफोनाले एक गोल गरे । विराटनगर सिटीका लागि सन्दिप राईले सान्त्वना गोल फर्काएका थिए ।
सुरुमा खेलमा अग्रता पनि चर्च ब्वाइजले नै लिएको थियो । खेलको १५औँ मिनेटमा समिर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको चर्च ब्वाइजले दोस्रो हाफमा ६ गोल गरेको थियो । खेलको ४६औँ मिनेटमा समिरले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारेका थिए ।
खेलको ६२औँ मिनेटमा अर्मान्ड विडुमले गोल गर्दै चर्च ब्वाइजलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७३औँ मिनेटमा समिरले गोल गर्दै ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ४-० को अग्रता दिलाए ।
खेलको ७७औँ मिनेटमा अर्मान्डले गोल गरेपछि चर्च ब्वाइज ५-० को अग्रता लिन सफल भयो । त्यसपछि खेलको ८७औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै अर्मान्डले पनि ह्याट्रिक पूरा गरे ।
विराटनगरका लागि ८७ओँ मिनेटमा सन्दिप राईले सान्त्वना गोल फर्काएका थिए । त्यसपछि खेलको ८९औँ मिनेटमा फोफोना अबयोमीले गोल गरेपछि चर्च ब्वाइज विराटनगर सिटीमाथि ७-१ गोलअन्तरको फराकिलो जित निकाल्न सफल भएको हो ।
फिदिम स्पोर्टिङ क्लबको आयोजनामा चलिरहेको प्रतियोगिताको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताअन्तर्गत बिहीबार न्युरोड टिम एनआरटीले सहलेश युथ क्लबको सामना गर्नेछ ।