याङ्वरक, पाँचथर ।

Nepalitheme

पाँचथरको याङ्वरक गाउँपालिका-३ स्थित सिद्धेश्वरी आधारभूत विद्यालय, वरिबुङका ५१ विद्यार्थीलाई महेन्द्र योङ्वाले न्यानो कपडा वितरण गरेका छन्।

आइतबार विद्यालयमा आयोजित कार्यक्रममा ५१ वटा स्विटर वितरण गरिएको हो। योङ्वाले आफ्नो शैक्षिक जीवनको सुरुवात यही विद्यालयबाट गरेको स्मरण गर्दै उक्त विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे। उनले भने, “मैले यस विद्यालयमा १ कक्षा देखि ५ कक्षासम्म अध्ययन गरेँ। यही विद्यालयमा मैले पहिलो अक्षर ‘क, ख’ सिकेको हुँ। त्यसैले यस विद्यालयप्रति मेरो विशेष माया छ।” साथै, आगामी दिनमा विद्यालयको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष समीर योङ्वा, शिक्षा समिति अध्यक्ष, अभिभावकहरू र विद्यालयका प्रधानाध्यापक अर्जुन गुरुङको उपस्थिति रहेको थियो। व्यवस्थापन समिति अध्यक्ष योङ्वाले महेन्द्र योङ्वाको प्रयासको प्रशंसा गर्दै विद्यालयका लागि गरिएको यो योगदान उदाहरणीय भएको बताए।

प्रधानाध्यापक अर्जुन गुरुङले पछिल्लो समय सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, “ग्रामीण क्षेत्रका बालबालिकाहरू निजी विद्यालयतर्फ आकर्षित हुँदा सरकारी विद्यालयका विद्यार्थी घटिरहेका छन्।”

कार्यक्रमका दौरान विद्यालयका आठ जना विद्यार्थीलाई अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।

महेन्द्र योङ्वा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता हुन्। उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफ्नो योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय