पाँचथर।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथर र कोशी प्रदेश कार्यसमिति सदस्य एवम् महासमिति सदस्य पूर्णकुमार तुम्बापोको आर्थिक सहयोगमा असोज ८ देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत प्रदान गरेका छन्।
सोमबार नेपाली काँग्रेसको पार्टी कार्यालय फिदिममा आयोजित कार्यक्रममा काँग्रेसका केन्द्रीय सममहामन्त्री भिष्मराज आङ्देम्बेको उपस्थितिमा मृतकका परिवारलाई समवेदना पत्रसहित जनही १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।
राहत वितरण कार्यक्रममा प्रमुख अतिथि भिष्मराज आङ्देम्बे, पूर्व जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, वर्तमान सभापति रुपनारायण जबेगू, र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको उपस्थिति थियो।
प्रमुख अतिथि आङ्देम्बेले जिल्लामा आएको विपत्तिले ठूलो जनधनको क्षति पु¥याएकोमा दुःख व्यक्त गर्दै सरकारलाई क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्न दबाब दिने प्रतिवद्धता जनाए। उनले बाढीपहिरोले गाउँ जाने सडक, मेचीराजमार्गअन्तर्गत हेवा खोला र फिदिम-फालोट-फेमे खोलाका पुलमा क्षति पुर्याएको उल्लेख गर्दै पक्की पुल निर्माणका लागि नेपाली काँग्रेसले पहल गरिरहेको बताए।
कार्यक्रममा जिल्ला सभापति रुपनारायण जबेगूले बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई सहयोग उपलब्ध गराउन पूर्णकुमार तुम्बापोले देखाएको सहयोगी भावना प्रशंसनीय रहेको बताए।