इलाम। इलामको चुलाचुली गाउँपालिका–१ स्थित कमलमा आयोजित सकल प्राणीहरूको रक्षा, विश्व शान्तिको कामना गर्दै माङ्गेन्ना चोत्लुङ (शिर उठाउने, मण्डप महायज्ञ पूजा) किरात धर्म सत्यहाङ्मा पन्थका तेस्रो पुस्ताका धर्म संरक्षक लाफयङ गुरु स्व.देवबहादुर तुम्पावोको ८१ औं जन्मजयन्ती, फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको नवौं वार्षिकोत्सव र माङ्गेन्ना हिमको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

Nepalitheme

इलाम क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चर्चित गायिका रचना रिमालको बेजोड प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, किरात धर्म सत्यहाङमा सेवा संघका अध्यक्ष ज्ञानोदय लावती, त्रिविका एशोसियट प्रोफेसर, युएन कलेजका निर्देशक ज्ञानेश्वर झा, चुलाचुली गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी योङहाङ (लावती) लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको अनुयायीहरूले यस्तो कार्यक्रम राखेका गरेका हुन् । फल्गुनन्द नोमाङ्गेन्ना संघका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । ‘हामीसँग पर्याप्त आर्थिक स्रोत छैन, बहुभाषिक पाठशाला जसोतसो चलिरहेको छ, जस्तोसुकै परिस्थिति आए पनि २०६९ सालदेखि नियमित नछुटाई कार्यक्रम गर्दै आएका छौं । कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा खुशी छौं’, उनले भने ।

संघले वर्षेनी मंसिसर १० गते जन्मजयन्ती साथै विविध कार्यक्रम गर्दै आएको छ । ‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा सदस्य नेम्बाङले कार्यक्रमको उद्घाटनपछि बोल्दै भाषा, धर्म, संस्कार, संस्कृतिमा आफूले पनि जोड दिँदै आएको बताए । उनले बहुभाषिक पाठशालाको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘खासमा भन्ने हो भने यस्ता बहुभाषिक पाठशालाको लागि स्थानीय, प्रदेश र संघ सरकार नै तात्तिएर लाग्नुपर्ने बेला आएको छ’, उनले भने, ‘यसका लागि मेरो पहलकदमी रहिरहनेछ ।’ उनले बहुभाषिक पाठशालाको लागि अहिलेसम्म जे जति सहयोग प्राप्त भयो, त्यो पर्याप्त नभएको बताउँदै गहीरो अध्ययन गरेर आफूले सक्दो सहयोग गर्ने बचन दिए ।

चुलाचुली गाउँपालिका–१ का वडाध्यक्ष पूर्ण लावतीले जोसुकै प्रमुख अतिथि बनेर आएपनि बहुभाषिक पाठशालाको विकासका लागि उपेक्षा गरिएको गुनासो गरे । उनले अहिले पनि बहुभाषिक पाठशाला उपेक्षाको शिकार बनिरहेको बताए । उनले सुहाङ लक्षित जोडदार माग गर्दै यस्ता कुरा सदनमा उठाउनुपर्ने बताए । ‘हामीले सधैं ढोल–झ्याप्टामात्रै बजाएर स्वागत गरिरहने तर उपलब्धि चाहिँ शुन्य नै भइरहने ।’ उनले भने ।

पूर्व राष्ट्रपति, सभामुखदेखि धेरै नेता आएर बहुभाषिक पाठशालाबारे बुझे पनि समस्या ज्युँका त्युँ रहेको गुनासो पोखेपछि उनले स्थानीयको सल्लाह, सुझावलाई गहनरुपमा लिएको समेत बताए । ‘तर चुलाचुली गाउँपालिकाका लागि यसपटक बजेट परेको र नियालेर हेरिदिन आग्रह समेत गर्दछु ।’ उनले भने ।

२०६९ सालदेखि नियमित कार्यक्रम गर्दै आएको र यस वर्ष पनि एसईई र भाषामा चुलाचुली प्रथम र सिर्जनशील पत्रकारिता पुरस्कार, कला, साहित्य संगीतको विधामा नगदसहित पुरस्कृत गरिएको थियो । चुलाचुली गाउँपालिकामा सामुदायिक विद्यालयतर्फ एसईई उत्कृष्ट विद्यार्थी रविना पोख्रेल, किरात लिपी भाषामा उत्कृष्ट विद्यार्थी पेनिसा चेम्जोङ, पत्रकार तथा रंगमञ्च कलाकार मनकुमार योङहाङलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा सेवासावा नरबहादुर केरुङ र मनवीर फियाकलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा गायिका रचना रिमाल, एसईई सिङ्गिङ् आइडलका बिजेता कुसुम माझी र एसईई डान्सिङ् आइडलकी विजेता डिना चोङवाङले समेत गीत र नृत्य पस्किएका थिए । संघले महान समाज सुधारक १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाएको बाटो अङ्गीकार गर्दै आएको छ । भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले मिति २०६९ साल कात्तिक २९ गतेका दिन इलाम जिल्लाको चुलाचुली गाविस वडा नं. १, कमलमा फाल्गुनन्द सत्यहाङ्मा नोमाङ्गेन्ना सेवा संघको जन्म भएको थियो ।

२०७० सालको दीपावालीको उपलक्ष्यमा आर्थिक सहयोगका लागि पनि माङ्लाःङ केलाःङ्को आयोजना गरेपछि २०७० सालमै संस्था दर्ता गरेर संस्थाको नाम ‘फाल्गुनन्द नोमाङ्गेन्ना सेवा संघ’ राखेर जिल्लामा संस्था दर्ता भएको थियो । संस्थाको मुख्य उद्देश्य नेपालका १६ औं राष्ट्रिय विभूति समाजसुधारक, दार्शनिक महागुरु फल्गुनन्दको स्मृतिलाई जीवन्त राख्नु भएको अध्यक्ष तुम्बापो बताउँछन् ।

यसअघि संविधानसभाका तत्कालीन अध्यक्ष तथा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङबाट नेपालकै पहिलो बहुभाषिक पाठशालाको समुद्घाटन भएको थियो । यस्तै, २०७४ सालमा बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ADVERTISEMENT
skip ads