विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गर्नुपर्ने माग राख्दै पुन ः पहिचानको आन्दोलन ब्युँतिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन ब्युँतिएको हो ।
प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आह्वानमा विराटनगरको भृकुटी चोकबाट जनआन्दोलन चोकसम्म पहिचान पक्षधरले प्रदर्शन गरे । उनीहरुले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै निकालेको ¥याली जनआन्दोलन चोकमा कोणसभा गरे ।
नाम खारेजीको माग गर्दै सुरु भएको आन्दोलन केदार कार्की नेतृत्वको सरकारले नाम परिवर्तनको पहल गर्ने सहमति गरेपछि सुस्ताएको थियो । पहिचानवादीको प्रदर्शनलाई ध्यानमा राखेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् । आन्दोलन र प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी हालसम्म पदमकुमार लिम्बू ‘लाजेहाङ’ को मृत्यु भयो भने १५० भन्दा बढी घाइते भएका थिए ।
पहिचानको पक्षमा कसले के भने
पहिचान पक्षधर नेताहरुले एक पटक पहिचानको लागि एक ढिक्का भएर लडनुपर्ने दिन आएको बताएका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आइतबारदेखि सुरु गरेको दोस्रो चरणको आन्दोलनको कोणसभामा बोल्दै अधिकार स्थापित गर्नको लागि पहिचान पक्षधरहरु एक ढिला भएकार संघर्ष गर्नुपर्ने बताएका हुन् । उनीहरुले प्रदेशको नाम ‘कोशी’ खारेज गर्न २०८४ सालको निर्वाचनमा पहिचान पक्षधरलाई जिताउनुपर्नेमा जोड दिए ।
विराटनगरको जनआन्दोलन चोकमा आयोजना गरिएको कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले माओवादी जहिल्लै पनि पहिचानको पक्षमा रहेको बताए । ‘माओवादीसँग दुई तिहाइ भए पहिचानकै आधारमा प्रदेशको नामकरण हुने थियो । तर, माओवादीसँग प्रयाप्त संख्या नभएको कारणले पहिचानको आधारमा नामकरण हुन नसेको हो,’ उनले भने, ‘माओवादी प्रदेशको नामकरण पहिचानकै आधारमा हुनुपर्ने पक्षमा रहेको छ ।’
एकीकृत समाजवादी नेपालका उपमहासचिव राजेन्द्र राईले आफू र आफ्नो पार्टी सुरुवातदेखि पहिचाको पक्षमा रहेको बताए । ‘प्रदेशको नामकरणको विषय उठाउँदै गर्दा पहिचानको पक्षमा उभिएको थिएँ । म मुख्यमन्त्री भएको बेलामा कोशी प्रदेश नाम पास गर्न खोजिएको थियो । त्यसबेला मैले कडा प्रतिवाद गरें । पहिचान विरोधी नाम राख्नुहुन्छ भने म चुरोटको खोलमा लेखेर भएपनि संसद स्थगित गर्छु भनेको थिएँ । नेकपामा भएको बेला पनि कोशी नाम पास गर्न खोजिएको थियो । त्यसबेलामा पनि कोशी नाम पास गर्न दिएको थिइँन । पार्टीले भोलि घाँटी न्याँक्यो भने के गर्नुहुन्छ सम्म पनि भनियो । जुन दिन पहिचानको विपक्षीमा पार्टीले निर्णाय गर्छ त्यस दिन पार्टीबाट अलग हुने अडान कायम राखेका थिए,’ पूर्व मुख्यमन्त्री समेत रहेका राईले भने ।
पहिचान को विषयमा अब पुरानो पार्टीबाट आश गर्न नहुने उनले बताए । ‘पुरानो पार्टी हरिलठ्ठक हुन् । यी पार्टीबाट हामीले पहिचानको आशा गर्नु हुँदैन,’ उनले भने, ‘आगमी चुनावमा पहिचान पक्षधरलाई जिताएर लैजानुपर्ने छ । त्यसपछि पहिचानको धारमा प्रदेशको नामकरण गरिनेछ ।’ पहिचानको आन्दोलनलाई अरु प्रदेशसँग पनि जोडेर लैजानुपर्नेमा उनले जोड दिए । ‘पहिचानको आन्दोलन सातै प्रदेशमा लैजानु पर्दछ । भाषा संस्कृतिलाई पनि संरक्षण गरेर लेजानुपर्नेछ,’ उनले भने ।
राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतोले पहिचान विरोधीहरुलाई सधैँको लागि बहिस्कार गर्नुपर्ने बताए । ‘जनताले पनि आउँदो दिनमा पहिचानविरोधी चिन्नुपर्छ । जे रोप्यो तेही फल्ने हो । त्यसैले हामीले निर्वाचनमा पहिचानको विरोधी चिन्नु पर्दछ,’ उनले भने, ‘उत्पीडनमा परेका जनताले अधिकार ल्याउन पहिचान पक्षधरहरुलाई जिताएर लैजानुपर्दछ ।’
जसपा नेपालका सहअध्यक्ष एवं पूर्वमन्त्री रकम चेम्जोङले प्रदेश १ मा पहिचानको आधारमा नामकरण नभएसम्म पहिचानको आन्दोलन जारी रहने बताए । पहिचानको लागि अन्तिमसम्म लडाइँ गर्ने उनले बताए । ‘भाषा, संस्कृति र इतिहाससँग जोडिएकाले पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘पहिचानको लागि जस्तो सुधै आन्दोलन गर्न पनि हामी तयार रहेका छौं,’ उनले भने ।
वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुती)ले पहिचानको आन्दोलनलाई मिथिला, मगरात, भोजपुर, नेवा, ताम्सालिङ, स्वाधीन मदेश जनअभियानलगाएतका जातीय संस्थाहरूले आफ्नो हकहितको लागि लड्न बाटो खुलेको बताए । उनले पहिचानको आन्दोलनलाई थप कडा बनाएर लैजानुपर्नेमा जोड दिए ।
जसपा नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जयराम यादवले कोशी प्रदेश नाम खारेजी गरी पहिचानको आधारमा पुनःनामांकन गरिनुपर्नेमा जोड दिए । उनले अन्य बाँकी ६ वटा प्रदेशलाई पनि पहिचानको आधारमा नामकरण गर्न पहल गर्नुपर्ने बताए ।
पहिचानवादी नेता कुमार लिङदेनले आफू २० वर्षदेखि आफ्नो पहिचानको लागि लडेको र अहिले पनि पहिचानको लागि बलिदिान दिएर अगाडि बढ्ने बताए । उनले अहिलेको सरकारले पहिचानको आन्दोलनलाई फुटाउन नसक्ने बताए । ‘यो आन्दोलने कोशी प्रदेश खारेज गरेर छोड्नेछ,’ उनले भने, ‘पहिचानको आधरमा नाम नभएसम्म आन्दोलन जारी रहनेछ ।’ Hamromat