
फिदिम।
पाँचथरको फिदिम-७, माक्लुम्वास्थित पञ्चकन्या आधारभूत विद्यालयको खेलमैदानमा सृजना क्लबको आयोजनामा दिपावली र बलिहाङ तङनाम २०८१ का अवसरमा सुरु भएको दोस्रो सृजना कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणका आठवटा खेल सम्पन्न भएका छन्।
आज सम्पन्न खेलमध्ये पहिलो खेलमा असिने फुटबल क्लब फिदिम-७ ले खान्द्रुङ फुटबल क्लबलाई २-० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो। दोस्रो खेलमा मनपजुङ फुटबल क्लब फिदिम-११ लाई १-० ले हराउँदै तमाखे फुटबल क्लबले अर्को चरणमा स्थान सुरक्षित गर्यो। तेस्रो खेलमा जल्पा देवी फुटबल क्लब लालिखर्कले तुम्बाम्फे फुटबल क्लब (बी) लाई ट्राईबेकरमा ५-४ गोलले पराजित गर्यो। चौथो खेलमा घलेगाउँ फुटबल क्लब फिदिम-८ ले लविजय फुटबल क्लबलाई २-० गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो।
यसैगरी, पाँचौं खेलमा रानीटार युनाइटेड क्लब फिदिम-७ ले माङसेबुङ फुटबल क्लब इलामलाई २-० ले हराउँदै विजयी भयो। छैटौं खेलमा एम वाइ सी फुटबल क्लब फिदिम-१३ फेजुङले ज्ञानज्योती फुटबल क्लबलाई ४-० गोलले पराजित गर्यो। सातौं खेलमा सेवारो फुटबल क्लब फिदिम-१२ बुधुकले पिपलबोटे फुटबल क्लब फिदिम-१२ लाई २-१ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो। अन्तिम आठौं खेलमा सेवारो फुटबल क्लब (ए) ले ५-० गोलको जित निकाल्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्यो।
गत दिन वडा सदस्य प्रदिप बाँस्कोटाले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। कार्तिक ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले रु ५० हजार, उपविजेताले रु २५ हजार, प्रमाणपत्र, ट्रफी, र मेडल प्राप्त गर्नेछन्। उद्घाटन समारोह सृजना क्लबका अध्यक्ष रोमन नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो। आयोजक संस्थाका निवर्तमान अध्यक्ष सन्देश नेम्बाङले पुरस्कारको घोषणा गर्नुभएको हो।
भोलि पहिलो चरणको बाँकी तीनवटा खेल र दोस्रो चरणका आठ टोलीको खेल सञ्चालन गरिने आयोजक संस्थाका सचिव शुसिल तुम्रोकले जानकारी दिनुभएको छ।