
पाँचथर। फिदिम–७, माक्लुम्वास्थित पञ्चकन्या आधारभूत विद्यालयको खेल मैदानमा शुभ दिपावली तथा बलिहाङ तङनाम २०८१ को अवसरमा आजबाट दोस्रो सृजना कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
फिदिम नगरपालिका वडा नं.-७ का वडा सदस्य प्रदीप बाँस्कोटाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा वडा सदस्य बलबहादुर राई, भीमा कुमारी दुलाल र मन्जु धमला लगायतको विशेष आतिथ्यता रहेको थियो।
सृजना क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा आज पहिलो खेलमा आयोजक सृजना क्लबलाई घुमाउनेटार फुटबल क्लबले १-२ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। दोस्रो खेलमा यासुकटार फुटबल क्लब फिदिम–१३ ले सुनौलो फुटबल क्लबलाई ३-२ ले हरायो। तेस्रो खेलमा रोयल रमिते फुटबल क्लब फिदिम–२ ले तृतीय फुटबल क्लब फिदिम–११ लाई ४-० गोलअन्तरले पराजित गर्यो। चौथो खेलमा डाइमन्ड फुटबल क्लब फिदिम–७ कोप्चेले लालिखर्क फुटबल क्लब फिदिम–३ लाई ५-४ ले जित निकाल्यो। पाँचौँ खेलमा चम्पुटार फुटबल क्लब फिदिम–११ सेजेपालाई ५-४ गोलअन्तरले पराजित गर्दै विजयी भएको छ।
प्रतियोगिता आगामी कार्तिक ११ गतेसम्म सञ्चालन हुनेछ। विजेता टिमलाई ५० हजार नगद, उपविजेता टिमलाई २५ हजार नगदसहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिने आयोजकका सचिव सुशील तुम्रोकले जानकारी दिनुभयो। प्रतियोगितामा २५ वटा टिमले सहभागिता जनाएका छन्।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य विरेन्द्र बाँस्कोटा, नेपाली कांग्रेस फिदिम–७ का उपाध्यक्ष उपेन्द्र अधिकारी, पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद बाँस्कोटा, समाजसेवी पर्शुराम अधिकारी र अस्थायी प्रहरी चौकी प्रमुख रोशन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सृजना क्लबका अध्यक्ष रोमन नेम्बाङले गर्नुभएको थियो। आयोजकका सदस्य सन्देश लिम्बुले भोलि १० टिमबीच खेल हुने जानकारी दिनुभयो।