फालेलुङ।

Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका-३ थकेपुङमा विजयादशमीको अवसरमा आयोजित दशमी मेला तथा फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

केलाङ साँस्कृतिक समाज, थकेपुङको आयोजनामा असोज २४ गतेबाट सुरु भएको यो कार्यक्रम कार्तिक २ गते समापन भएको हो।

फुटबल प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ। उद्धाटन खेल असोज २४ गते भएको थियो, जसमा प्रमुख अतिथि वडा अध्यक्ष शक्ति प्रसाद केरुङले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा वडा सदस्य राजन चोङ्वाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता बृखराज सावाले गर्नुभएको थियो।

असोज २६ गते विजयादशमीको अवसरमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो। यसमा गायक तथा संगीतकार बिरेन्द्र थाम्सुहाङ, गायिका मुना ठटाल, मिङ्सो केरुङ र सुनिल केरुङले बेजोड प्रस्तुति दिएका थिए। त्यस्तै, विभिन्न जातजातिको मौलिक संस्कृति झल्काउने नृत्य पनि प्रस्तुत गरिएको थियो। सांगीतिक कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीर बिक्रम थाम्सुहाङ रहनुभएको थियो।

समापन समारोहको प्रमुख अतिथि पालिका उपाध्यक्ष महेन्द्र जबेगू रहेका थिए। फाइनल खेलमा ताङ्लेपा युथ क्लबले प्रथम स्थान हासिल गर्दै नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने थकेपुङ नवसुसेली क्लब उपविजेता बन्न सफल भयो, जसले नगद ५० हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

 

मेलाको अन्तिम दिन आयोजकले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय