फिदिम, पाँचथर ।

फिदिम नगरपालिका वडा नं. ७ मा रहेको बराजु रंगशालामा वाल दिवसको अवसरमा आयोजना गरिएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि इलाम फुटबल क्लबले उचालेको छ।

आज सनिबार सम्पन्न फाइनल खेलमा इलाम फुटबल क्लबले पाँचथर फुटबल क्लब फिदिमलाई ट्राइबेकरको आधारमा ६-५ गोलले पराजित गर्दै उपाधि जितेको हो। खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।

उपाधिसँगै प्रथम स्थान हासिल गरेको इलाम फुटबल क्लबले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। भने, उपविजेता पाँचथर फुटबल क्लबले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। विजेता र उपविजेता टोलीलाई प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो।

फुटबल खेलाडीहरूलाई विशेष पुरस्कार पनि प्रदान गरिएको थियो। इलाम फुटबल क्लबका विवेक मगरलाई बेस्ट किपर, दीपेश राईलाई टप स्कोरर, पाँचथर फुटबल क्लबका रोशन आङ्देम्बेलाई बेस्ट डिफेन्डर र इलाम फुटबल क्लबका अर्जुन गुरुङलाई बेस्ट मिडफिल्डर घोषित गर्दै ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको आयोजक अध्यक्ष टंक गुरुङले जानकारी दिए।

फिदिम नगरपालिकाको आर्थिक सहयोगमा आयोजित यस प्रतियोगितामा पाँचथर, इलाम र झापा जिल्लाका गरी आठ वटा टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता रानीटार युनाइटेड क्लबको आयोजनामा र स्वतल क्लबको सहआयोजनामा सम्पन्न भएको थियो।

यस अवसरमा रोपाइ जात्राको समेत आयोजना गरिएको थियो। जसमा विभिन्न जातजातिका भेषभूषामा सजिएका रानीटार मावि र सगरमाथा आविका १ सय ५० भन्दा बढी छात्राहरूले नौमती बाजाको धुनमा रोपाइ गरेका थिए। केही छात्रहरू गोरू, घोडा, साधु र जमीनदार बनेर दर्शकहरूलाई मनोरञ्जन दिए।

समापन समारोहमा प्रमुख अतिथि मित्र प्रसाद काफ्लेले रोपाइ जात्रालाई फिदिम नगरको सांस्कृतिक पहिचानको रूपमा बाँचाइ राख्नुपर्ने आवश्यकता औंल्याउँदै, नगरपालिका द्वारा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। फिदिम नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपाने, वडा नं. ७ का अध्यक्ष रुपेन्द्र तामाङ, वडा नं. ८ का सोमबहादुर गुरुङ, वडा सदस्य बल बहादुर राई, भीमा कुमारी दुलाललगायतका स्थानीय राजनीतिक नेताहरू, समाजसेवी र शिक्षकहरूको उपस्थिति रहेको थियो।

रानीटार मावि द्वारा २०३८ सालदेखि सुरु गरिएको हिले जात्राको परम्परा पछिल्लो समयमा रोपाइ जात्राका रूपमा कायम राखिएको हो। पूर्वप्रधानाध्यापक भक्त बहादुर राईका अनुसार रानीटार मावि द्वारा सुरु गरिएको यो जात्रा तत्कालीन महारानी रत्न राज्य लक्ष्मी देवी शाहको निर्देशनअनुसार विद्यालयले विद्यार्थीहरूलाई वाल दिवसको दिन कुनै न कुनै कार्यक्रममा सहभागी गराउनु पर्ने परिपाटीबाट सुरु भएको जनाए।

सो जात्रा विभिन्न राजनीतिक कारणले २०५८ सालदेखि २०६९ सालसम्म रोकिएको थियो तर २०७० सालदेखि पुनः सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीहरू र स्थानीय बासिन्दाको पहलमा यो उत्सव चार वर्षसम्म चलेको बताए। यसपछिका केही वर्ष कोरोनाका कारण रोकिएको यो उत्सव यस वर्ष रानीटार युनाइटेड क्लबको आयोजनामा पुनः सञ्चालनमा आएको आयोजक अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय