युद्धबहादुर बोहोरा

Nepalitheme

इलामः  जब पानी पर्न थाल्छ अनि छ वटा साना खोल्साहरु र डाँडाको भलसहित सटके खोलामा उर्लेर आउँछ । यसबेला बाटो काट्नेहरुलाई धौधौ पर्छ । खोलामै बास बस्नु कि फर्किनु भन्ने पीर खेपिरहेका छन् इलाम फाकफोकथुम १ खाम्बाङ र ठिंगेपुर टोलका स्थानीयबासीहरु । उनीहरु दिनहुँ सटके खोला तर्न भैंसेटार भन्ने ठाउँको बाटो हिड्ने गर्दछन् । हिउँदको समयमा खोलामा पानी कम हुने र बाटो छोटो भएका कारण वडाकार्यालयमा सेवा लिन जाने सेवाग्राही पनि यही बाटो हिड्ने गरेका छन् । तर, वर्षायाम सुरू भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका छन् ।

स्थानीय मिलेर वर्षेनी बाँसको पुल हाल्छन् केही दिन टिक्न नपाई भलबाढीले कतिबेला बगाउँछ पत्तै हुँदैन । उनीहरुलाई खोला तर्न र पुल बनाउन हैरानीसंगै उत्तिकै पीडा छ । यही पीडाको प्रमुख शिकार बनेका छन् १ नम्बर वडा निवासी गणेश प्रसाद भट्टराई । उनी पेशाले शिक्षक हुन् । हालसम्म उनले कुनै सवारी साधन चलाउन सिकेका छैनन् अनि संधै भर पैदल यात्रा गर्ने गर्दछन् । पानी पर्न थालेपछि मनमा त्रास बोक्दै दैनिक बिहान स्कुल जाने गर्छन् । घरबाट स्कुल पुग्न करीब दुई घण्टा लाग्छ । उनले शिक्षण गर्ने विद्यालय पालिकाको यसै वडामा अवस्थित ज्योति आधारभूत विद्यालय हो । उनी यस संस्थाका प्रधानाध्यापक हुन् । उनी हिँड्ने बाटो निकै जोखिम छ । नपत्याउँदो खोला भेलबारी आउने गर्छ । मनमा त्रास लिएर उनी सधैंभरि हिँड्ने गर्छन्  । जब बर्खा सुरु हुन्छ उनलाई खोलाकै पिर हुन्छ । उनी भन्छन्, “अब उमेरका हिसाबले जागिर खान छ वर्ष बाँकी छ । खोला तर्नका पिरले अहिलेनै पो जागिर छोडौ कि जस्तो लाग्छ कहिले काहीं त ।” उनको यो पीडा सुन्दा निक्कै बिकट क्षेत्रको गाउँ झै बनेको  । अहिले बर्खाको सिजनमा यस ठाउँका स्थानीय मिलेर असार २१ गते स्थानीय २० जना मिलेर लगभग १५ मिटर लामो,डेढ मिटर फराकिलो बाँसको पुल लगाएका छन् ।

यस बाटोमा दिनहुँ धेरै मानिसहरू हिँड्ने गर्छन् किनभने पुरानो मूल बाटो र सटकट बाटो भएकै कारण यो बाटो बारेमा जानकार मान्छे आउँछन् । तर, खोलाबाढी  आएपछि तर्न नसकेर फर्किन बाध्य छन् । ठूलो पानी दैनिक पर्दा जोखिम मोल्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि सम्बन्धित निकायले तत्काल पुलको व्यवस्था नगरे मानवीय क्षति हुन सक्ने स्थानीय बताउँछन् । यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ । दीर्घकालीन सडक निर्माणसँगै पुलको पनि ग्रामीण भेगमा उत्तिकै आवश्यकता देखिन्छ । बाँसको पुलबाट त्रासमा यात्रा गर्नु पर्दा यस ठाउँका स्थानीयबासीले भोग्नु परेको समस्या कहिले अन्त्य होला ? सम्बन्धित र सरोकारवालालाई यात्रुहरुको सदैव प्रश्न छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय