राप्रपाले भरखरै जेठ १५ मा आफ्नो स्थापनाको ३४ औँ वार्षिकोत्सब मनाएको छ । आफ्नो स्थापनाको ३४ वर्षमा राप्रपाले निकै उतारचढाव व्योहोर्दै आज एक सशक्त दलको रुपमा आफुलाई स्थापित गरेको छ।
आज राप्रपा सडक र सदनमा आफ्ना प्रतिस्पर्धीहरुलाई खुल्ला चुनौती दिने दलको रुपमा उदाएको छ।
व्यवस्था परिवर्तनको नाममा परिवर्तनकारीहरुले मुलुकलाई भ्रष्टाचारको अखाडा बनाइएको यथार्थ लुकेकाे छैन । राजनीतिक भागबन्डाको कारण मुलुक थिलथिलो भएको छ वैदेशिक हस्तक्षेपको कारण हाम्रो स्वाभिमान गुमेको छ ।आर्थिक सुचांकहरु सकारात्मक दैखिँदैन । हाम्रो आस्था र पहिचान गुमेको अवस्था छ । कानुनी राज्य कागजमा मात्र सीमित छ । जनजीविकाका सबालहरु गौण भएका छन् ।
यो परिवेशमा मुलुकलाई जोगाउन फरकधारमा रहेको राप्रपाबाहेक अरुले सक्दैन । जनतालाई जगाउँदै व्यापक आन्दोलनमार्फत यो व्यवस्था परिवर्तनका लागि राप्रपाले नेतृत्व गर्नुपर्छ । जनता परिवर्तनको पक्षमा छन् । यसको निर्णायक नेतृत्व राप्रपाले गर्नैपर्छ ।
संविधानमा अभिव्यक्त भावना अनुरुप जनताको हित र अधिकार संरक्षणको लागि सरकार केन्द्रित हुनुपर्छ भन्ने चिन्तनबाट शासकहरु च्युत भएका छन् । कुरा अग्रगमन तर व्यवहारमा लुट आजको यथार्थ हो । सत्तालाई अधिकारको दुरुपयोग गरि संस्थागत कुत असुल्ने अखडा बनाइँदैछ ।
फलस्वरूप सत्तामा जान दलहरु जस्तोसुकै हतकन्डा गर्न तयार छन् । केवल सत्ताको लागि पैसा, पैसाको लागि भ्रष्टाचार । यही गोलचक्करभित्र आज मुलुक फसेको छ । यो सबै परिवेशबाट मुलुकलाई निकास दिने दल राप्रपा बाहेक छैन । तर राप्रपा किन सुस्त छ ?
यो चिन्तनको परिवेशमा देशभरिका कार्यकर्ताले राप्रपाको उन्नतिको बाधक पुरानो पुस्तालाई ठानेर नयाँ नेतृत्वसमेत स्थापित गरे । राप्रपाको लोकप्रियता दिनानुदिन बढदो छ । यसमा गोलवद्ध हुनेको संख्या बढिरहेछ । अझ बढ्नेछ तर नयाँ नेतृत्व किन सुस्त देखिन थालेको छ । आन्तरिक व्यवस्थापनमा चुस्तता छैन । आन्तरिक व्यवस्थापनमा चुस्तता ल्याउन सकिएन भने हाम्रो लोकप्रियता कमजोर नहोला भन्न सकिन्न ।
राजा, धर्म, संस्कृति, कुल परम्परा मान्ने यत्रो वर्गको साथ हामीलाई छ । पञ्चायत व्यवस्थामा काम गरेका बहुदलीय व्यवस्थालाई समेत नेतृत्व दिएका क्षमता र दक्षवान, निष्कलङ्क नेताहरु एक भएर उभिएका छन् तर पनि किन राप्रपा उठन नसक्ने ? संसदमा १५/२० सिट हुने चार जना मन्त्री बन्ने राप्रपाको लक्ष्य हो र ?
आफूभन्दा फरक मत राख्नेलाई निषेधको राजनीतिले व्यवस्थामाथि नै आक्रोश बढ्दो छ । यो परिवेशमा राष्ट्रियताको जगलाई सुदृढ तुल्याउन, राष्ट्रको मौलिक पहिचानको पर्याय रहिआएको धम संस्कृतिको जगलाई मजबूद बनाउन, राष्ट्र निर्माणमा उल्लेख योगदान दिँदै आएको राजसंस्था पुनस्र्थापना गर्न अब राप्रपाले विलम्ब नगरी निर्णायक आन्दोलनको नेतृत्व गर्नुपर्छ ।
नेतृत्वको छाति कुखुरे हुनुहुँदैन । चौँडा र विशाल छाति लिएर तेरो–मेरा नभनि मन खोलेर अगाडि बढ्नुपर्छ । घर घुमेर कानभित्र छिर्ने, प्रवृत्तिप्रति नेतृत्व चनाखो हुनुपर्छ । जसले नेतृत्व लाई देवत्वकरण गर्छ त्यसले विनास निम्ताउँछ । यो विगतको उदाहरण हो यसलाई नेतृत्वले बुझ्नुपर्छ ।
नेतृत्वमा छलकपट, जालझेल रहनुहुन्न । यो इतिहासले दिएको अन्तिम अवसर पनि हो । यसको सदुपयोग गरी राप्रपालाई आन्दोलनमार्फत राष्ट्रिय राजनीतिमा नेतृत्वदायी दलको रुपमा स्थापित गराउन नसके भावी पुस्ताले माफी गर्ने छैन । नयाँ पुस्ताले नेतृत्व गरेको नविन राप्रपाभित्र सबैको राजनीतिक भविष्य सुरक्षित हुनुपर्छ ।
यसतर्फ वर्तमान नेतृत्वले ध्यान दिनुपर्छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, गौरवशाली इतिहास, राष्ट्रिय चरित्र, कला, संस्कृति, भाषा र भेष
संरक्षणको लागि शिक्षा, स्वास्थ, रोजगारी, यातायात, आवास, पिउने पानी, जिउधनको सुरक्षा, महँगी नियन्त्रण र भ्रष्टाचारको विरुद्ध हुने अबको निर्णायक आन्दोलनको नेतृत्व राप्रपाले गर्नुपर्छ । यसको विकल्प देख्नै हुन्न । हेर्नै हुन्न । सुन्नै हुन्न ।
आन्दोलनको पृष्ठभूमिमा उभिएको राप्रपाले जतिजति आफ्ना आन्दोलित विचार अगाडि बढाउँछ । उतिउति जनसमर्थन पाउने निश्चित छ । यो कामको निमित्त कार्यकर्ताको मनोवल उचो हुनु जरुरी छ । अलोकप्रिय,कार्यकर्ताले अस्वीकार गरेका व्यक्तिहरुको समूह वा झुन्डलाई लिएर गन्तव्यमा पुग्न सकिँदैन । यो नेतृत्वले ख्याल गर्नुपर्छ । यसरी अगाडि बढदा आउँदो दिन राप्रपाको हो ।यसमा शंका छैन । (पाठक राप्रपाका निर्वाचित केन्द्रिय सदस्य हुन् ।)