पाँचथरको फिदिम नगरपालिका–१२ मा हिजो परेको असिनासहितको वर्षाले स्थानीय कृषकहरूले लगाएको आलु खेतीमा गम्भीर क्षति पुर्याएको छ भने मकै बालीमा आंशिक असर परेको छ। अचानक आएको असिनापानीका कारण बारीमा लगाइएका बालीहरूमा प्रत्यक्ष क्षति पुगेको हो।
असिनाको तीव्र प्रहारले आलु बाली अधिकांश रूपमा नष्ट भएको छ। आलुको बोटमा व्यापक क्षति पुगेको छ भने बारीमा पानी जम्दा आलु कुहिने जोखिमसमेत बढेको छ। यसका कारण यस वर्ष आलु उत्पादनमा उल्लेखनीय गिरावट आउने अनुमान गरिएको छ।
त्यसैगरी मकै बालीमा असिनाका कारण पात च्यातिने र केही बोट ढल्ने समस्या देखिए पनि पूर्ण रूपमा नष्ट नभएकाले समयसँगै सुधार हुने सम्भावना रहेको छ। उचित हेरचाह र अनुकूल मौसम भएमा मकै उत्पादनमा अपेक्षाकृत कम असर पर्ने आकलन गरिएको छ।

असिनापानीले कृषिमा मात्र नभई स्थानीय बासिन्दाको आवासमा समेत क्षति पुर्याएको छ। करिब २० भन्दा बढी घरका जस्तापाता छानामा प्वाल परेर पानी चुहिने समस्या देखिएको छ।
स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायबाट यथाशीघ्र स्थलगत अनुगमन गरी क्षतिको यथार्थ मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन्। साथै पीडित कृषक तथा घरधुरीलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनीहरूले यस्ता प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना, प्रभावकारी पूर्वतयारी तथा कृषकमैत्री बाली बीमा प्रणालीको व्यवस्था गर्न स्थानीय तहसँग माग गरेका छन्।








