पाँचथर । फाल्गुनन्द गाउँपालिकाले स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ३५ जना मेलमिलापकर्तालाई पुनर्ताजगी (रिफ्रेसर) तालिम प्रदान गरेको छ। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालित उक्त तालिम वैशाख १० गतेदेखि १२ गतेसम्म आवासीय रूपमा सम्पन्न भएको हो।

Pasupati Ayurvedic
Nepalitheme

पालिकाका सातै वडाबाट छनोट भई यसअघि ४८ घण्टे आधारभूत तालिम लिएका मेलमिलापकर्ताहरूलाई थप सुदृढ बनाउने उद्देश्यले अभिमुखीकरण स्वरूप पुनर्ताजगी तालिम सञ्चालन गरिएको हो। तालिममा महिला तथा पुरुष दुवैको सन्तुलित सहभागिता रहेको थियो। साथै स्थानीय समाजसेवी, जनप्रतिनिधि, शिक्षक, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूको समेत उल्लेख्य उपस्थिति रहेको जनाइएको छ।

गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको तालिमबारे जानकारी दिँदै न्यायिक समिति उजुरी प्रशासक थमराज जैसीले समुदायमै विवाद समाधानलाई सहज बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार यस्ता तालिमहरूले मेलमिलापकर्ताको दक्षता अभिवृद्धि गर्नुका साथै न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। सहभागीहरूलाई व्याग, डायरी, प्रमाणपत्र तथा आवश्यक सामग्रीसमेत वितरण गरिएको थियो।

ऊनको स्वीटर टेजर

तालिममा अधिवक्ता सहमान विश्वकर्मा र अधिवक्ता युधिष्ठिरराज आमगाईले सहजीकरण गरेका थिए। उनीहरूले मेलमिलापकर्ताका गुण तथा आचारसंहिता, मिलापत्र लेखन प्रक्रिया, मेलमिलापका चरणहरू, स्थानीय तहको न्यायिक अधिकार क्षेत्र, सञ्चारको भूमिका, सरोकारवालाहरूको पहिचान तथा महत्व र मेलमिलापकर्ताले गर्न नहुने कार्यहरू जस्ता व्यवहारिक तथा कानुनी विषयमा विस्तृत प्रशिक्षण दिएका थिए।

तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्य रहेको थियो। उनले गाउँपालिकाले उत्पादन गरेका मेलमिलापकर्ताहरू सञ्चार, शिक्षा, व्यापार, राजनीति तथा सामाजिक सेवाजस्ता विभिन्न क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै समुदायमा मेलमिलाप संस्कृतिको विकासमा उनीहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता गरेका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ठाकुरसिं नेम्वाङले नेपालको संविधान, प्रचलित ऐन-कानुन तथा मेलमिलापसम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्दै स्थानीय न्याय प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताए। उनले समुदायमै विवाद समाधान गरी अदालतसम्म पुग्ने झन्झटिलो र खर्चिलो प्रक्रियालाई न्यूनीकरण गर्नु नै तालिमको मुख्य उद्देश्य रहेको स्पष्ट पारे।

पालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७४ बमोजिम आवश्यक नयाँ मेलमिलापकर्ता उत्पादन तथा विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरेको हो। प्रशिक्षण अवधिभर सम्बन्धित निकायबाट अनुगमनसमेत गरिएको थियो भने सहभागीहरूलाई गम्भीरतापूर्वक कानुनी ज्ञान आर्जन गर्न आग्रह गरिएको थियो।

फाल्गुनन्द गाउँपालिका जिल्लामा उत्कृष्ट न्याय सम्पादन गर्ने पालिकाका रूपमा परिचित बन्दै गएको छ। सातै वडामा मेलमिलापकर्ता व्यवस्था, मेलमिलाप केन्द्र स्थापना तथा आवश्यक सामग्री व्यवस्थापन गरिएको छ भने सबै मेलमिलापकर्तालाई परिचयपत्र (आईडी कार्ड) उपलब्ध गराउने तयारी भइरहेको छ। साथै आगामी आर्थिक वर्षमा प्रशिक्षक उत्पादन (टट) तालिम सञ्चालन गर्ने योजना पनि रहेको जनाइएको छ।

जिल्ला अदालत पाँचथरका न्यायाधीशसहितको टोलीले गरेको अनुगमनमा गाउँपालिकाको न्यायिक अभिलेखीकरण तथा कार्यसम्पादन उत्कृष्ट रहेको उल्लेख गरिएको छ। यसै कारण अन्य स्थानीय तहका न्यायिक समितिहरूले समेत यहाँको अभ्यास अध्ययन गर्न आउने गरेका छन्। गाउँपालिका न्यायिक समिति सदस्य सागर नेम्वाङका अनुसार फाल्गुनन्दले स्थानीय न्याय प्रणालीमा नमुना अभ्यास प्रस्तुत गर्दै अघि बढिरहेको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय