पाँचथर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथर जिल्लामा कुल १ लाख ४३ हजार ४०८ जना मतदाता रहेका छन्। प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा पुरुष मतदाता ७६ हजार ७८ जना र महिला मतदाता ६७ हजार ३३० जना रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका कम्प्युटर अपरेटर तथा सूचना अधिकारी अशोक घिसिङका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका मतदाताको आधारमा उक्त संख्या कायम गरिएको हो। एक नगरपालिका र सात गाउँपालिका गरी जम्मा आठ स्थानीय तह रहेको पाँचथरमा सो संख्याका मतदाता मतदान प्रक्रियामा सहभागी हुनेछन्।
जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता फिदिम नगरपालिकामा रहेका छन्। फिदिममा ३५ हजार ९९५ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै, सबैभन्दा कम मतदाता तुम्बेवा गाउँपालिकामा रहेका छन्, जहाँ जम्मा ९ हजार २४९ जना मतदाता छन्।

जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार जिल्लामा साविककै संख्यामा १ सय २ वटा मतदान स्थल कायम रहेका छन्। यद्यपि मतदान केन्द्रको संख्या भने बढाइएको छ। यसअघि रहेका १ सय ७७ मतदान केन्द्रमा २ वटा थप गरी हाल १ सय ७९ मतदान केन्द्र कायम गरिएको छ। फिदिम नगरपालिका वडा नं. २ मा रहेको एउटै मतदान केन्द्रलाई विभाजन गरी दुई वटा बनाइएको छ भने फालेलुङ गाउँपालिका वडा नं. ५ स्थित कालिका माध्यमिक विद्यालय, प्राङबुङमा एक मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ।







