फिदिम, पाँचथर।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिमा पाँचथर जिल्लाबाट आठ जना केन्द्रीय सदस्य चयन भएका छन्। मंगलबार काठमाडौँमा सम्पन्न कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित २ हजार ४९९ जनाले शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण गर्नेहरूमध्ये पाँचथरबाट साविक माओवादी केन्द्रतर्फ इन्द्रबहादुर आङ्बो ‘मौसम’, हर्कबहादुर नेम्वाङ ‘मिक्सो’, सीता थेवे ‘प्रमिला’ तथा लेखा सदस्यमा नरबहादुर दुलाल ‘नेटवर्क’ चयन भएका छन्। त्यसैगरी साविक नेकपा (एकीकृत समाजवादी) तर्फबाट कमलप्रसाद जबेगू, अन्जु काम्बाङ, प्रेम रिजाल र भवानी शंकर केन्द्रीय सदस्य बनेका छन्। केन्द्रीय सदस्य चयनसम्बन्धी जानकारी हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले दिनुभएको हो।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादीसहित १९ राजनीतिक दलहरू एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति पहिलो पटक यसरी समायोजन गरिएको हो।
यसैबीच, प्रतिनिधिसभा विघटनपछि सरकारले आगामी फाल्गुन २१ गतेका लागि निर्वाचन मिति तोकेसँगै नेकपाबाट प्रतिनिधिसभा सदस्य पदका लागि हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ लाई प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।








