काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ । मंगलबार ( बिहान ११ बजेका लागि तय गरिएको बैठक अब दिउँसो १ बजे बस्ने भएको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै बैठकको समय हेरफेर भएको जानकारी दिएका हुन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवनमा बस्ने यस बैठकको आह्वान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका हुन् ।
मुख्यसचिव पौडेलद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज २०८२ पौष २९ गते मंगलबारका दिन बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

पार्टीभित्र विशेष महाधिवेशनको प्रसङ्गले आन्तरिक राजनीति तातिरहेका बेला यो बैठक बस्न लागेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनमार्फत पार्टीलाई अघि बढाउने प्रक्रिया सुरु भएपछि संस्थापन पक्ष दबाबमा देखिएको छ । विशेष महाधिवेशनका प्रतिनिधिहरूले नेतृत्व नै परिवर्तन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच सहमतिका लागि वार्ता भइरहेको छ ।









