फालेलुङ ।
पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बर वडाको संगम स्थल थाप्ली डाँडा, सिर्लिङ्गी टारमा आयोजना गरिएको तेस्रो फालेलुङ पर्यटन महोत्सव सम्पन्न भएको छ। मंसिर १२ गतेदेखि सुरु भएको महोत्सव मंसिर १५ गते औपचारिक रूपमा समापन भएको हो।
तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङको आयोजना तथा फालेलुङ गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा सञ्चालित महोत्सव लगातार चार दिनसम्म आयोजना गरिएको थियो। सन् २०८० सालदेखि सुरु भएको यो महोत्सव यस वर्ष तेस्रो संस्करणका रूपमा सञ्चालन गरिएको हो।

महोत्सवअन्तर्गत खुला पुरुष म्याराथन तथा वडा स्तरीय महिला र पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिएको आयोजक संस्था तीनसिमाना जनसेवा समाज नेपालका अध्यक्ष लेन्जो सावदेनले जानकारी दिनुभयो।
म्याराथन प्रतियोगिता मंसिर १५ गते बिहान ८ः३० बजे सुरु भएको थियो। दौड मार्ग फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङबाट सुरु भई मेमेङ डाँडा, थाप्ली सिर्लिङ्गी टार, गोर्खेपानी बिओपी क्याम्प हुँदै फालोट तीनसिमाना पुगेर पुनः महोत्सव स्थल थाप्ली डाँडामा आएर टुंगिएको थियो। ३२ किलोमिटर लामो उक्त दौडमा २३ जनाले सहभागिता जनाएका थिए।
प्रतियोगितामा इलामको सन्दकपुर गाउँपालिका–१ का सन्जय राई प्रथम हुन सफल भए। उनले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। दोस्रो स्थान पाँचथरको मिक्लाजुङ गाउँपालिका–सारङडाँडाका ओसन राईले प्राप्त गर्दै नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाए भने तेस्रो स्थान फालेलुङ–४ खुर्बुकका धनराज राईले हासिल गर्दै नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। साथै चार जनालाई सान्त्वना पुरस्कार पनि प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यस्तै वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फ फालेलुङ–४ विजेता बनेको छ। विजेता टोलीले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। महिला फुटबलतर्फ फालेलुङ–२ ले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको थियो।
फालेलुङ गाउँपालिकाका कुल ८ वडामध्ये वडा नम्बर ७ बाहेकका ७ वडाका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए भन्ने जानकारी आयोजक समितिका सचिव गजेश्वर थाम्सुहाङले दिनुभयो।
समापन कार्यक्रममा फालेलुङ गाउँपालिकाका अध्यक्ष वीर विक्रम थाम्सुहाङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन योङ्या, वडा नम्बर ५ का अध्यक्ष भरत खपाङ्गी, वडा नम्बर ३ का अध्यक्ष शक्ति प्रसाद केरुङ, वडा नम्बर ४ का अध्यक्ष सन्तवीर राई, पर्यटन अभियन्ता डिल्ली प्रसाद केरुङ, इलाका प्रहरी कार्यालय मेमेङ–माछेबुङका इन्चार्ज, बिओपी फालोटका इन्चार्ज तथा छिमेकी राष्ट्र भारतको सिक्किमबाट आएका अतिथिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
पर्यटन प्रवर्द्धन, स्थानीय खेलकूद र युवाको सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सवले फालेलुङ क्षेत्रलाई थप चिनाउने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।








