फालेलुङ।
पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित तेस्रो फालेलुङ पर्यटन महोत्सवको अवसरमा सम्पन्न खुल्ला पुरुष म्याराथन प्रतियोगिताको उपाधि इलामको सन्दकपुर गाउँपालिका–१ का सन्जय राईले जितेका छन्। राईले ३२ किलोमिटर दूरी २ घण्टा ४९ मिनेट १८ सेकेन्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन्।
प्रतियोगितामा दोस्रो स्थान पाँचथरको मिक्लाजुङ गाउँपालिकाका ओसन राईले हात पारे। उनले सो दूरी २ घण्टा ५७ मिनेट २१ सेकेन्डमा पूरा गरेका थिए। त्यस्तै, तेस्रो स्थान फालेलुङका धनराज राईले प्राप्त गरेका छन्। उनले ३ घण्टा ३१ मिनेटमा दूरी पार गरेका थिए। चौथो स्थान याङवरक गाउँपालिका–३ का सौगात काम्बाङले ३ घण्टा ३४ मिनेटमा तथा पाँचौँ स्थान मिक्लाजुङ गाउँपालिका–७ (मधुमल्ला, मोरङ) का याङ्देभ राईले ३ घण्टा ३५ मिनेटमा दूरी पार गर्दै प्राप्त गरेका छन्।

म्याराथनमा जम्मा २३ जना धावकको सहभागिता रहेको प्रतियोगिताका संयोजक रन्त थाम्सुहाङले जानकारी दिनुभयो।
म्याराथन फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङबाट सुरु भई मेमेङ, थाप्ली डाँडा हुँदै फालोट र तीनसिमाना पुगेर पुनः थाप्ली डाँडास्थित महोत्सवस्थलमा पुगेर सम्पन्न भएको थियो। समुद्री सतहबाट करिब २,३०० मिटर उचाइबाट सुरु भएको म्याराथन तीनसिमानाको ३,६०० मिटर उचाइसम्म पुगेको थियो। कडा उकालो–ओरालो र चुनौतीपूर्ण भौगोलिक बनावटका बावजुद धावकहरूले उत्साहका साथ दौड पूरा गरेका थिए।
म्याराथन मंसिर १५ गते बिहान ८:३० बजे सुरु भएको थियो। दौडको नेतृत्व (लिड रनर) तितस राईले गर्नुभएको थियो भने म्याराथनको औपचारिक उद्घाटन फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन योङ्याले गर्नुभएको थियो।
यो वर्ष तेस्रो पटक फालेलुङ पर्यटन महोत्सव आयोजना गरिएको हो। महोत्सव मंसिर १२ गतेबाट सुरु भएको हो। महोत्सव अन्तर्गत वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता पनि सञ्चालनमा रहेको छ, जसको फाइनल खेल यही मंसिर १५ गते (आज) सम्पन्न भएको आयोजकले जनाएको छ।
म्याराथन प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने धावकले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रोले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो स्थान प्राप्त गर्नेले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। साथै सातौँ स्थानसम्म आउने धावकलाई सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजक संस्था तीनसिमाना जनसेवा समाज मेमेङका अध्यक्ष लेन्जो सावदेनले बताउनुभयो।








