रमेश थापा,
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँका अभिभावकहरूले हाङमापोखरी र सिंहकाली आधारभूत विद्यालय मर्ज (गाभ्ने) गर्ने निर्णयको विरोध गर्दै आन्दोलनको चेतावनी दिएका छन्।
शुक्रवार गाउँपालिकाको कार्यालयमा पुगेर दुबै विद्यालयका अभिभावकहरूले उपाध्यक्ष महेन्द्र बहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका हुन्।
उपाध्यक्ष खड्कालाई हाङमापोखरी विद्यालयका शिक्षक हस्तबहादुर सम्बाहाम्फे र सिंहकाली विद्यालय व्यवस्थापन समितिका सदस्य सानबहादुर सम्बाहाम्फेले ध्यानाकर्षण पत्र बुझाएका थिए। उनीहरूले गाउँपालिकाले अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग कुनै समन्वय नगरी एकपक्षीय रूपमा निर्णय गरेको भन्दै आपत्ति जनाए।

शैक्षिक सत्रको बीचमा मर्ज गरिएको निर्णय सञ्चारमाध्यममार्फत मात्रै थाहा पाएको उनीहरूको भनाइ छ। अभिभावक र समितिको सहमति बिना निर्णय कार्यान्वयन नगर्न सुझाव दिँदै उनीहरूले बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका विद्यार्थीहरू मर्ज गरिएको विद्यालयसम्म पुग्न कठिन हुने भन्दै निर्णय सच्याउन माग गरेका छन्।
गाउँपालिका उपाध्यक्ष खड्काले विद्यालयको मागबारे जानकारी लिएपछि प्रतिक्रिया दिँदै शैक्षिक सत्रको सुरुवातमै गर्नुपर्ने काम केही ढिलाइ भएको बताए। उनले विद्यालयको मागबारे अब बस्ने कार्यपालिकाको बैठकमार्फत निर्णय लिने बताए।
कुम्मायक गाउँपालिकाले २०८२ साल कात्तिक १ गतेदेखि लागू हुने गरी हाङमापोखरी आधारभूत विद्यालयलाई सिंहबाहिनी आधारभूत विद्यालयमा र सिंहकाली आधारभूत विद्यालयलाई सिद्ध माध्यमिक विद्यालयमा मर्ज गर्ने निर्णय गरेको थियो। यसअघि गाउँपालिकाले कार्यपालिकाको निर्णयमार्फत पाँच विद्यालय मर्ज र दुई विद्यालयका कक्षा समायोजन गरेको पनि जनाएको छ।








