पाँचथर । वाईसिएल नेपाल पाँचथरले १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको तपोभूमि तथा समाधिस्थल रहेको धार्मिक–पर्यटकीय स्थल सिलौटीमा सरसफाइ अभियान सञ्चालन गरेको छ।
शनिबार आयोजित सो सरसफाइ अभियान वाईसिएलले देशभर सञ्चालन गर्दै आएको “श्रमसँग उत्पादन” अभियानअन्तर्गतको निरन्तरता हो। वाईसिएल पाँचथरले आयोजना गरेको अभियानमा सिलौटीस्थित मन्दिर र समाधिस्थल परिसर सरसफाइ गरिएको हो।
कार्यक्रममा फिदिम नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपानेले वाईसिएलले स्थानीय सरकारको अभावमा भइरहेका महत्वपूर्ण काम पूरा गर्दै आएको उल्लेख गर्दै जनप्रतिनिधिलाई पनि सहयोग पुगेको बताए। फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिङ नेम्वाङले युवाहरू निस्वार्थ श्रमदानमार्फत गाउँ–विकास, कृषि र पर्यटन प्रवर्द्धनमा जोडिए आत्मनिर्भर समाज निर्माण सम्भव हुने धारणा राखे।

वाईसिएल पाँचथरका संयोजक गनेश तुम्रोकले श्रमदान अभियानले युवालाई आत्मनिर्भर बन्ने प्रेरणा दिने र लागूऔषध दुरुपयोगमा फसेकालाई क्षमताविकासमार्फत मुक्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले जिल्लालाई लागूऔषधमुक्त बनाउन एक महिनासम्म जनचेतनामूलक अभियान सञ्चालन गर्ने घोषणा गरे।
त्यस्तै, वाईसिएल केन्द्रीय सचिव बिक्रम संखरले पाँचथरले देशभरकै उदाहरणीय अभियान सञ्चालन गर्दै आएको भन्दै गरीब परिवारलाई घर निर्माण, किसानलाई खेतीमा सहयोग, प्राकृतिक विपत्तिमा सक्रिय भूमिका र बाटो, पाटी–पौवा लगायतका निर्माण कार्यमा उल्लेखनीय योगदान दिँदै आएको जानकारी दिए।
हालसम्म जिल्लामा ७ हजारभन्दा बढी वृक्षारोपण गरिएको र यसको संरक्षण वडा वाईसिएल कमिटीमार्फत हुने पनि संयोजक तुम्रोकले बताए। उनका अनुसार भदौ अन्तिमसम्म जिल्लाका सात गाउँपालिका र एक नगरपालिका सबै क्षेत्रमा श्रमदान अभियान चलाइनेछ। साथै याङवरक गाउँपालिकास्थित ओयाम क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने तयारी भइरहेको जानकारी गराइयो।
यसबाहेक, मेची राजमार्गअन्तर्गत पौवा भञ्ज्याङमा जनयुद्धका क्रममा सहादत प्राप्त गरेका पाँचथरका १६४ सहिदको सम्झनामा सहिद स्मृति प्रतीक्षालय निर्माण गर्ने योजना रहेको वाईसिएल केन्द्रीय सदस्य अनिस तामाङले जानकारी दिए।
शनिबारको सरसफाइ अभियानमा नेकपा (माओवादी केन्द्र) प्रदेश सचिवालय सदस्य दिनेश लावती प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै पार्टी प्रदेश सदस्य राधाकृष्ण न्यौपाने, ठाकुरसिङ नेम्वाङ, डीपी मुखिया, बिरेन्द्र बाँस्कोटा, वाईसिएल केन्द्रीय सचिव बिक्रम संखर, केन्द्रीय सदस्य अनिस तामाङ, पाँचथर इन्चार्ज सागर नेम्वाङ, वाईसिएल पाँचथर संयोजक गनेश तुम्रोकलगायतका प्रदेश, जिल्ला र पालिकास्तरका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
वाईसिएल, नेकपा (माओवादी केन्द्र)को सहायक संगठनका रूपमा सामाजिक र उत्पादनमुखी अभियानमा सक्रिय हुँदै आएको छ।








