
फालेलुङ।
पाँचथरको फालेलुङ गाउँपालिका-७ स्थित श्री सिद्धदेवी माध्यमिक विद्यालय, सिदिनमा विद्यालय घेराबार तथा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गरेका छन्।
माघ २१ गते सोमबार सरस्वती पूजाको अवसर पारेर आयोजित विशेष कार्यक्रममा पूर्व भौतिक तथा पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगूले उद्घाटन गरेका हुन्। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शिशिर केरुङका अनुसार, प्रदेशसभा सदस्य समेत रहेका पूर्वमन्त्री जबेगूले २०८०/८१ को बजेटबाट विद्यालयको घेराबार निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेका थिए। सोही बजेटबाट विद्यालयको घेराबार निर्माण सम्पन्न भएको हो।
विद्यालय परिसरमा निर्माण गरिएको सरस्वती मन्दिरका लागि विभिन्न व्यक्तिहरूले आवश्यक सामग्री सहयोग गरेका छन्। सरस्वतीको मूर्ति श्री मनराम हिमालयन हेन्डिक्राफ्ट प्रा. लि., काठमाडौंले प्रदान गरेको छ। फालेलुङ-६ का वडा अध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थीले गजुर सहयोग गरेका छन्। युवा नेता दिपक याङ्माले घण्टी उपलब्ध गराएका छन्। याक्थुङ एल्युमिनियम फर्निचर उद्योग, फिदिमले रोस्टम र ऐना सहयोग गरेको छ। ह्याविटेट हाइड्रोपावर प्रा. लि. का म्यानेजर मधुसूदन पौडेलले शिल्ड, कप तथा अन्य सजावट सामग्री प्रदान गरेका छन्। विद्यालयले यी सहयोगदाताहरूलाई विशेष सम्मान प्रदान गरेको थियो।
उद्घाटन समारोहकै अवसरमा विद्यालय व्यवस्थापन समिति (बिव्यास) र शिक्षक अभिभावक संघ (शिअसं) को नयाँ नेतृत्व चयन गरिएको छ। बिव्यास अध्यक्षमा धनवीर चोङ्बाङ चयन भएका छन्। शिअसं अध्यक्षमा भीमकुमार मेयोङ्बा चयन भएका छन्। सदस्य तथा सचिव विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था गरिएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्वमन्त्री कमल प्रसाद जबेगू, विशेष अतिथि जिल्ला समन्वय समिति उपाध्यक्ष यामकुमार आङ्बो, नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति नरेन्द्र कुमार केरुङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।