इलाम । माङसेबुङ गाउँपालिकाले स्थानीय तहमा भाषा र पाठ्यक्रमको विविधता थप गर्दै ‘वान्तवा भाषा पाठ्यक्रम’ कार्यान्वयन गर्ने तयारी सुरु गरेको छ। यसअघि ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’लाई आधारभूत तहमा लागू गरिसकेको गाउँपालिकाले अब वान्तवा भाषालाई पनि पाठ्यक्रमको रुपमा अघि बढाउन एक कार्यदल गठन गरी काम थालेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए।

Pasupati Ayurvedic
Nepalitheme

उनका अनुसार, वान्तवा भाषी समुदायको बाहुल्यता रहेको क्षेत्रमा यो पाठ्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ स्थानीय सरोकारवालासँग व्यापक छलफलपछि वान्तवा भाषा पाठ्यक्रम निर्माणको काम अघि बढाइएको हो। कार्यदल संयोजक मदनकुमार राईको नेतृत्वमा शिक्षक उदय राई, सकुन्ताला राई, अम्बिकाप्रसाद राई, पूर्व शिक्षक गुञ्जकुमार राई तथा शिक्षा अधिकृत युवराज खनाल कार्यदलमा समावेश छन्। उनीहरूलाई भदौ मसान्तसम्ममा पाठ्यक्रम निर्माण सम्पन्न गर्ने निर्देशन दिइएको अध्यक्ष राईले बताए।

वान्तवा भाषा पाठ्यक्रम निर्माण हुने खबरले सरोकारवालामा उत्साह थपिएको छ। किरात राई यायोख्खा केन्द्रीय उपमहासचिव कृष्णकुमार राईले यो प्रयास वान्तवा भाषी समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिए।

ऊनको स्वीटर टेजर

नेपालको संविधानको धारा ३१ को उपधारा ५ अन्तर्गत प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा शैक्षिक संस्था सञ्चालन गर्ने अधिकार दिइएको छ। सोही अधिकारअनुसार माङसेबुङ गाउँपालिकाले मातृभाषा शिक्षामा थप ध्यान दिँदै वान्तवा भाषा पाठ्यक्रम निर्माणमा जुटेको अध्यक्ष राईले बताए।

यसअघि माङसेबुङले आधारभूत तह (कक्षा १ देखि ८ सम्म) मा ‘हाम्रो माङसेबुङ’ नामक स्थानीय पाठ्यक्रम तथा कक्षा १ देखि ५ सम्म लिम्बू भाषा पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा लागू गरिसकेको छ। लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्ने विद्यालयहरूमा पवित्रा आधारभूत विद्यालय (वडा ३), सरस्वती माध्यमिक विद्यालय (वडा ५), साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशाला समावेश छन्, जसको जानकारी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले दिएका छन्।

माङसेबुङमा १६ हजार ८१० जनसंख्या रहेको राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ लिम्बू जातिको ४२.८३ प्रतिशत र राई जातिको ३३.६ प्रतिशत जनसंख्या बसोबास गर्छन्। जातीय र भाषिक बहुल्यता हेर्दा यसअघि लिम्बू भाषा पाठ्यक्रम लागू गरिसकेको माङसेबुङले यसपटक वान्तवा भाषा पाठ्यक्रम थप गर्ने तयारी गरेको हो।

गाउँपालिकाले २०७५ सालदेखि लिम्बू भाषालाई कामकाजी भाषा घोषणा गरी वडा नं. ५ मा कार्यान्वयन गरिरहेको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय