पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ। केरुङले १७ हजार २ सय ३३ मत प्राप्त गर्दै जीत हासिल गर्नुभएको हो।

Nepalitheme
Pasupati Ayurvedic

उहाँका निकटतम प्रतिद्वन्द्वी श्रमशक्ति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्त गर्नुभयो। नेकपा (एमाले) का अइन्द्र सुन्दर नेम्बाङले १४ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ ले ११ हजार ४ सय ४३ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र विक्रम थामसुहाङले ४ हजार १ सय ९७ मत प्राप्त गर्नुभएको थियो।

देशका विभिन्न स्थानमा कांग्रेसका लागि प्रतिकूल परिणाम आइरहेका बेला पाँचथरमा भने केरुङको जीतसँगै पार्टी नेता–कार्यकर्ता तथा समर्थकमा उत्साह छाएको थियो। आइतबार बिहानैदेखि कांग्रेस समर्थकहरूले सदरमुकाम फिदिममा विजय उत्सव मनाएका थिए।
२०७४ र २०७९ सालको निर्वाचनमा पराजय भोगेको कांग्रेसका लागि केरुङको जीतलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय केरुङ तेस्रो प्रयासमा संसदीय यात्रामा पुग्न सफल हुनुभएको हो।

ऊनको स्वीटर टेजर

२०७० सालको संविधानसभा निर्वाचनमा उहाँ नेकपा (एमाले) का गणेश काम्बाङसँग पराजित हुनुभएको थियो। त्यसपछि २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि उहाँ काम्बाङसँगै पराजित हुनुभएको थियो। यसपटक भने केरुङ २ हजार ४ सय ९९ मतको अग्रतासहित विजयी हुनुभएको हो।

निर्वाचित भएपछि केरुङले अब आफू सम्पूर्ण जिल्लाको प्रतिनिधि भएको उल्लेख गर्दै जिल्लाको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हिजो चुनाव प्रतिस्पर्धाको विषय थियो, अब म पाँचथर जिल्लाको प्रतिनिधि हुँ। जिल्लाको विकासका लागि सबै पक्षलाई समेटेर अघि बढ्नेछु,” उहाँले भन्नुभयो।

केरुङको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। २०४८ सालमा नेविसंघ पाँचथरको जिल्ला सचिव बनेपछि उहाँ शिक्षक तथा प्राध्यापक संगठनमार्फत सक्रिय राजनीतिमा स्थापित हुँदै जानुभयो। २०५१ सालमा नेपाल शिक्षक संघ पाँचथरको जिल्ला सह–सचिव बन्नुभएका केरुङ २०५७ देखि २०६७ सालसम्म ट्रेड युनियन कांग्रेस पाँचथरको सभापतिका रूपमा १० वर्ष नेतृत्वमा रहनुभयो।

यस अवधिमा उहाँले नमुना माध्यमिक विद्यालय फिदिम र सिद्धदेवी माध्यमिक विद्यालय सिदिनमा शिक्षकका रूपमा सेवा गर्नुभएको थियो। साथै २०५५ देखि २०६७ सालसम्म पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापकका रूपमा पनि अध्यापन गर्नुभएको थियो।

पाँचथरको फालेलुङ गाउँपालिका–७ थोक्पन (साविक सिदिन–८) मा २०२९ साल मंसिर २१ गते जन्मनुभएका केरुङ लामो समयदेखि फिदिम नगरपालिका–२ पल्लोटारमा बसोबास गर्दै आउनुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीए) अध्ययन पूरा गर्नुभएको छ।

२०६७ साल केरुङको राजनीतिक जीवनको महत्वपूर्ण मोड बनेको थियो। सोही वर्ष उहाँ प्रजातान्त्रिक प्राध्यापक संघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो भने नेपाली कांग्रेस पाँचथरको जिल्ला सभापतिमा पनि विजयी हुनुभएको थियो। कम उमेरमै जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नुभएका केरुङले २०७८ सालसम्म लगातार दुई कार्यकाल पार्टीको जिल्ला नेतृत्व सम्हाल्नुभएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय